सबै जिल्लामा पुग्यो मतपत्र, पालिकामा पठाउने तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।

आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् ।

अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ ।

कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ ।

उनले वैशाख २४ गते जिल्लाको बङ्गलाचुली गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने बताए ।

दाङमा स्थानीय रेडियो र सञ्चारमाध्यमबाट मतदाता शिक्षालगायत सामग्रीको प्रसारण र प्रकाशन भइरहेको छ भने आचारसंहिता विरुद्धका उजुरी आएमा अनगुगमन र कारबाहीका लागि संयन्त्र तयार गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस