यो वर्ष सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको प्रक्षेपण

काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ । यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं। १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भएमा पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस