
दंगीशरण । शाखा प्रमुख तथा कर्मचारीहरुका लागि मध्यकालीन खर्च संरचना विषयक अभिमुखीकरण सोमबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा योजना विज्ञ जगनाथ अधिकारीले अबका योजना मध्यकालीन खर्च संरचना सहितको योजना बनाउनुपर्ने भन्दै आवधिक योजना र वार्षिक योजना सँगसँगै लैजानुपर्ने बताए ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सहसचिव पुरुषोत्तम नेपालले मध्यकालीन खर्च संरचना बनाउनका लागि बजेट, नीति तथा कार्यक्रमलाई ब्यवस्थित तरिकाले लैजानका लागि आवश्यक रहेको बताए । मध्यकालीन खर्च संरचना सहितको बजेट बनाउदा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको र शाखा प्रमुखहरु सदस्य रहेको कार्यदल गठन गर्नुपर्ने जानकारी दिए ।

कार्यक्रममा रणनीतिक स्तम्भको आधारमा तीन आर्थिक बर्षको अनुमान तथा प्रक्षेपणका विषयमा छलफल गरिएको थियो । जसमा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन, वातावरण तथा विपद् ब्यवस्थापन र सुशासन तथा संस्थागत विकास गरि पाँच वटा विषय क्षेत्रलाई रणनीतिक स्तम्भ तयार गरि तीन वर्षका लागि वजेट अनुमान तथा प्रक्षेपण गर्न सकिने जनाइएको थियो ।
यसैगरी स्थानीय गौरवका आयोजनाको तीन आर्थिक वर्षको बजेट अनुमान तथा प्रक्षेपण गर्दा ठूला आयोजनाहरुलाई समेटि योजना तयार गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख लेखनाथ आचार्यले गरेका थिए ।
यसैबिच दंगीशरण गाउँपालिकाको मध्यकालीन खर्च संरचनाको दस्तावेज गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वली खड्कालाई हस्तान्तरण गरीएको छ । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सहसचिव पुरुषोत्तम नेपाल र योजना विज्ञ जगनाथ अधिकारीले उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा साझेदारी संघीयता सहयोग कार्यक्रमका माया चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्का, योजना शाखा प्रमुख लेखनाथ आचार्य, लेखा शाखाका भरत के.सी, कार्यक्रम अधिकृत किरण पाख्रेल, महिला बालबालिका शाखाका चन्द्रा वलीको उपस्थिति रहेको थियो । स्वशासन अध्ययन प्रतिष्ठानको प्राविधिक सहयोग तथा युएसएड साझेदारी संघीयता सहयोगको समन्वय र सहयोगमा सो दस्तावेज तयार परिएको हो ।