छरछरे खानेपानी समितिको साधारणसभा सम्पन्न

बिजौरी । छरछरे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को सातौँ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

उक्त साधारण सभामा प्रमुख अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी सबैको अधिकार भएकाले यसको पहुँचबाट कसैलाई बन्चित हुन नदिनका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले सक्दो सहयोग गरेको र गर्दै जाने कुरा ब्यक्त गरे ।

सो साधारण सभामा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष थलराज पुरी,वडा नं १८ का वडा अध्यक्ष माधव वली, जिल्ला खेलकुद बिकास समितिका राकेश परियार, देबिपुर टोलका अध्यक्ष पुर्ण बहादुर डाँगी, एकीकृत नमुना टोलक सचिव कपिल लामिछाने, पिपल चौतारा टोलका अध्यक्ष पबित्रा रोका लगायकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारण सभामा संस्थाका सचिव आशाराम नेपालीले आय ब्यय सहितको प्रगति प्रतिवेदन पेश गर्दै खानेपानीलाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सम्पूर्ण पदाधिकारीहरु वडा नं १७ र वडा नं १८ को कार्यालय, स्थानीय बुद्धिजीवीलगायत सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

साधारण सभामा सस्थाका कोषाध्यक्ष जेनि भण्डारीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै संस्थालाई कोरोना भाइरसका कारण सोचेका कतिपय कामहरु गर्न नसकेको भए पनि समितिले उल्लेखनीय कामहरु गरेको बताइन् । संस्थाको आ.ब. २०७७/०७८ को आय २३ लाख ६० हजार र खर्च २३ लाख ६० हजार भएको प्राप्ति तथा भुक्तानी बिवरणमा उल्लेख गरिएको छ । साथै गत बर्षको जम्मा रकम ४७ लाख ४१ हजार ५९ रुपैया भएकोमा यस बर्षको बिभिन्न शिर्षकमा जम्मा रकम ४९ लाख १५ हजार १ सय ५ रुपैया वासतालमा उल्लेख गरिएको छ । साथै यस बर्षको पुँजिगत कोष तर्फ २ लाख ५४ हजार ४ सय ६४ रुपैँया समितिमा बचत रहेको छ ।

साधारण सभामा संस्थालाई सहयोग गर्नुहुने क्वारी बस्नेत, कर्ण सिं नेपाली लगायतकालाई सम्मान साथै उपभोक्ताहरुको मनोरञ्जनका लागि नृत्य समेत प्रस्तुत गरिएको थियो ।

समितिको बन्दसत्रमा नयाँ कार्यसमितिका विषयमा छलफल भएको र निर्वाचन मण्डललाई त्यसको जिम्मा दिइएको छ । सहमतिमा नयाँ कार्यसमिति चयन गर्न छलफल भईरहेको र आज सहमति जुट्न नसके पुनः भोली छलफल गरि कार्यसमितिको टुङ्गो लगाईने भएको छ ।

छरछरे खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष टोप बहादुर वलीको अध्यक्षता, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोला थापाको प्रमुख आथित्यमा भएको कार्यक्रम समितिका उपाध्यक्ष तुलाराम नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सदस्य राजन लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस