
बिजौरी । एकेडमिक भवनको एउटा पढाइ कक्ष सुनसान थियो । पुरै कक्षाभरीका बेन्च मध्ये एउटा बेन्चमा मात्रै विद्यार्थीको व्याग थियो । अरु पुरै खालि । त्यो दशौं व्याच रहेछ । बाहिर अर्को व्याचका विद्यार्थीले भनिरहेका थिए, अहिले भाइभा चल्या छ, त्यहीँ भएर एक सातादेखि यो व्याचको पुरै पढाइ ठप्प छ ।
अर्को कक्षामा पुग्दा विद्यार्थीहरु पिनड्रप साइलेन्सको अवस्थामा थिए । कक्षाभरी विद्यार्थी । तर उनीहरुलाई पढाउने शिक्षक थिएनन् । टिचर आउनुभा छैन ? पत्रकारको जिज्ञासामा विद्यार्थीको हुलबाट जवाफ आएको थियो, सेल्फ स्टडी, नो प्राक्टिकल । धेरै आग्रह गरेपछि मात्र सो कक्षाका विद्यार्थीले मुख खोलेका थिए, वर्षभरीमा ८० प्रियड पनि पढाइ हुँदैन, हामीलाई हामीले प्राप्त गर्ने डाक्टरी सर्टिफिकेटको गुणस्तरप्रतिनै चिन्ता छ ।

माथिको रोदन नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यपीठमा आयुर्वेद स्नातक (विएएमएस) पढ्दै गरेका विद्यार्थीहरुको थियो । सो क्याम्पसका विद्यार्थीले आफ्नो शैक्षिक भवन पाउनै कम्तिमा दुई वर्ष आन्दोलन गर्नु परेको थियो । प्रदेश सरकारसँग नजिक रहेका केही पदाधिकारीको तात्कालीन स्वार्थका कारण विद्यार्थीहरुले कोरोना संक्रमण भरी क्याम्पस भवन पाएनन् । संघीय माताहतको नेपाल संस्कृत विश्वविद्यालयले भविष्यको कुनै चिन्तानै नगरी कोरोना अस्पताल चलाउन आयुर्वेद क्याम्पस भवननै प्रदेश सरकारले चलाएको कोरोना अस्पताललाई दिएको थियो ।
पढाइ र प्रयोगात्मक कक्षा नियमित नभए पनि सेमेस्टर परीक्षा र भाइभा त हुनेनै भयो । कुनै विद्यार्थीले नियमित पठन पाठनलगायत प्रयोगात्मक कक्षा र ओपिडि आइपिडि सेवा माग गरे भने उनीहरुलाई भाइभामै फेल गराइ दिनेसम्मका धम्की क्याम्पस प्रशासनबाट आउने गरेको विद्यार्थीहरुले सुनाउँछन् । दुई वर्ष अघि चलेर पनि एकाएक बन्द भएको विएएमएस शिक्षण अस्पतालको ओपिडि कक्षा अझै चल्न सकेको छैन । प्रयोगशाला सञ्चालनका लागि विश्वविद्यालय प्रशासनले जनशक्तिको निर्णय नगरिदिंदा ओपिडि सेवानै अन्योलमा परेको छ । प्रयोगात्मक अभ्यासका लागि कहाँ जाने ? विद्यार्थीहरु चिन्ता पालेर बसिरहेका हुन्छन् । प्रयोगात्मक अभ्यास विनाको स्वअध्ययनले विद्यार्थीलाई कहाँ पुर्याउने हो ? कस्तो गुणस्तरीय बनाउने हो ? विद्यार्थी स्वयमलाई थाहा छैन । विएएमएस कक्षालाईनै लक्षित गरेर सरकारले बेलझुण्डीमा वोटानिकल गार्डेन निर्माणका लागि लाखौं रुपैया बजेट दिएको वर्षौ भयो, तर त्यो पैसा कहाँ छ ? विद्यार्थीलाई थाहा छैन । बोटानिकल गार्डेनको बजेट गायव गरेर विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यपीठले विद्यार्थीलाई बोटानिकल गार्डेनको एक्सकर्शन टुरका लागि कास्कीका जंगल पु¥याउँछ । पञ्चकर्म सेवाका लागि पनि विश्वविद्यालययमा बजेट स्वीकृत भएको थियो, तर किन बनेन पञ्चकर्म अध्ययनको अवस्था ? विद्यार्थीहरुले क्याम्पस प्रशासन समक्ष यहीँ प्रश्न सोधिरहन्छन् । विद्यार्थीका समस्यामा पदाधिकारीहरु भने एकले अर्कालाई जिम्मेवारी थमाएर पन्छने गरेका छन् ।
निरिह जवाफ दिन्छन् क्याम्पस प्रमुख मंगलाकान्त झा । तीन साता अघि पत्रकारहरुसँगको कुराकानीमा तुरुन्तै ओपिडि कक्ष सञ्चालन हुने र प्रयोगशाला पनि नियमितरुपमा सञ्चालनमा आउने अभिव्यक्ति दिएका प्राचार्य झाले फेरी पनि उहि अभिव्यक्ति दिए, जनशक्ति व्यवस्थापन हुनासाथ यी सबै काम हुन्छन्, हामी अन्तिम प्रक्रियामा छौं । जनशक्तिको व्यवस्थापन किन भएन भन्ने जिज्ञासामा प्राचार्य झाको एउटै अभिव्यक्ति थियो, सेवा आयोगले विज्ञापननै गरेको छैन ।
५१ जना शिक्षक प्राध्यापकको दरवन्दी स्वीकृत भएको केन्द्रीय आयुर्वेद विद्यपीठमा अहिले १२ जना स्थायी प्राध्यापक र ६ जना जति आंशिक प्राध्यापकले पठनपाठनको काम गरिरहेका छन् । ती प्राध्यापकलाई पनि नियमित आउनुपर्ने नियम कार्यान्वयन गर्न सकेको छैन, क्याम्पस प्रशासनले । न भौतिक उपस्थिति हुनुपर्ने, नत अनलाइन हाजिरिनै । मन लागे मात्र आउने अभ्यास बसाउँदै छन् प्राध्यापकहरु । थप दरबन्दीका लागि विश्वविद्यालय कार्यकारी परिषदले स्वीकृत प्रदान गर्नुपर्ने विनियम छ, तर अझै पनि विज्ञापन भएको छैन ।
सेवा आयोगले भने केही दिन अघि मात्रै कार्यकारी परीषदबाट केही दरबन्दी स्वीकृत भएर आएकाले शिक्षक प्राध्यापकको विज्ञापन गर्ने तयारीमा आयोग रहेको बताएको छ । ‘सबै कुरा सार्वजनिक गर्न मिल्दैन, तर केही दरबन्दीमा अब चाँडै विज्ञापन हुने छ, हामी अन्तिम प्रक्रियामा छौं’, विश्वविद्यालयका सेवा आयोग अध्यक्ष प्राध्यापक श्रीधर मज्गैयाले पत्रकारहरुमाझ भने । कहिलेदेखि नयाँ अध्यापक आउने भन्ने विषयमा भने उनले स्पष्ट बताउन चाहेनन् ।
विज्ञापनको प्रक्रिया पनि सहज छैन । कार्यकारी परीषदको निर्णयपछि प्राप्त दरवन्दीका विषयमा सेवा आयोगले फेरी लोकसेवा आयोगसँग परामर्श लिनुपर्ने छ । सेवा आयोगका पदाधिकारी र लोकसेवा आयोगका पदाधिकारीले काठमाडौंमा छलफल गरेर अन्तिम टुंगो लगाएपछि मात्रै सेवा आयोगले विज्ञापन गर्ने हो । त्यो सबै प्रक्रिया पुरा गरेर क्याम्पसमा नयाँ प्राध्यापक आउन अझै केही महिना कुर्नुपर्ने छ । कतै मिथिला क्याम्पसले चलाएको जस्तो त बन्ने होइन, केन्द्रीय आयुर्वेद क्याम्पसका विएएमएस कार्यक्रम ? आम विद्यार्थीहरु यही चिन्ताबीच सेमेस्टर परीक्षाको प्रतिक्षा गरिरहेका छन् ।
साक्षी खबरबाट