काठमाडौं । श्रीलंका आर्थिक संकटका कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् ।
आजबाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको श्रीलंकाका अधिकारीहरुलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।
सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ ।
श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ, ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ।’
विदेशी मुद्रा अभावका कारण श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ, औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदको समस्या व्यहोर्दै आएका छन् । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।
आर्थिक संकटमा फसेको श्रीलंकाका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।