लालपुर्जा एक ठाउँको, जोतभोग अन्तै

बिजौरी । तात्कालीन नापिको समयमा मनोमानी रुपले जग्गाको स्वामित्व नापजाँच गरेका कारण तुलसीपुर उपमहानगरपालिका—१९ भित्रि स्यालापानीका केही स्थानीयबासीले भू–स्वामित्व एवं भू–उपयोगमा समस्या खेप्न थालेका छन् । त्यहाँ करीव ६ विगाहा जग्गाको नापीमा यस्तो समस्या देखिएको स्थानीयबासीले बताएका छन् । यस्तो समस्या करीव ३५ परिवारलाई परेको उनीहरुले बताएका छन् ।

उनीहरुले जुन जग्गा जोतभोग गर्दै आएका छन्, त्यसको स्वामित्व अर्कैसँग रहेको छ । अर्को व्यक्ति पनि फेरी अर्काको स्वामित्वको जग्गा जोतभोग गर्दै आएका छन् । यसका कारण जग्गा किनबेच तथा बैंकमा राखेर ऋणको कारोबार गर्न पनि उनीहरुले पाएका छैनन् । वि.सं. २०२८ सालमा त्यहाँको जग्गा नापी गर्दा यसरी मनोमानीरुपमा श्रेस्ता कायम गरिएको उनीहरुले बताएका छन् । यो समस्या मिलाउन उनीहरुले स्थानीय वडा, उपमहानगरपालिका, नापी कार्यालय तथा मालपोत कार्यालयमा पटक पटक आग्रह गरे पनि कतैबाट पनि समस्याका विषयमा कुनै सुनुवाइ नभएको स्थानीयबासीको आरोप छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ भित्री स्यालापानीमा बसोबास गर्दै आएका अधिकांश बासिन्दाहरुको जहाँ बास छ त्यो ठाउँको पूर्जा छैन । उनीहरुले बसोबास गर्दै आएको जग्गाको पोत समेत तिरिदै आएको छ । अर्थात् जग्गा लम्बरी नै हो तर २०२८ सालमा नापीका क्रममा कर्मचारीहरुको प्राविधिक त्रुटिका कारण अहिले त्यहाँका स्थानीयबासीले सास्ती व्यहोर्नु परिरहेको स्थानीयबासीको दावी छ । तर नापीले भने त्यसलाई स्वीकार गरेको छैन ।

ज.म.वि.वि. कित्ता नम्बर ९ ठ र ढ को नक्साङ्कन गरिएको ३५ घरधुरी बसोबास गर्दै आएको जग्गामा यस्तो समस्या देखिएको स्थानीय समाजसेवी तथा राजनीतिक अगुवा नन्दराम रोकायले बताएका छन् । उनै रोकाय पञ्चायत काल र बहुदल आएपछि गरी ४ कार्यकाल सो वडाको अध्यक्ष समेत भए, तर समस्या त्यो बेला थाहै भएन । अहिले बल्ल त्यहाँको भू–स्वामित्वको समस्या छताछुल्ल हुन थालेको छ । बिजौरीलाई स्यालापानीसँग जोडेर छिल्लीकोटसम्म पर्यटकीय पदमार्ग निर्माण हुन थालेपछि बल्ल त्यहाँका स्थानीयबासीले आफ्नो जग्गाको बैंकिङ कारोवार तथा बेचविखन सुरु गरे । यसपछि मात्रै यस्तो समस्या छताछुल्ल भएको बताइएको छ ।

साविक बिजौरी गाविस पञ्चायतका वडा नम्बर ९का अध्यक्ष नन्दराम रोकाकाअनुसार त्यो समयमा औलौ रोगका कारण खेतीपातिका लागि मात्रै त्यहाँ आउने जग्गाधनीले जग्गा नाप नक्साङ्कन भएको एक वर्ष पछि मात्रै जानकारी पाए । आफ्नो जग्गाको समस्या बारेमा जानकारी गराउँदा समेत तत्कालीन समयमा सच्याउने अवधि ६ महिना पूरा भइसकेकाले अवसर नै नपाएका कारण अहिले सास्ती भोग्नुपरेको उनको अभिव्यक्ति छ । रोकायले भने ‘हामीले धेरै प्रयास गर्यौ, सच्याउनका लागि मालपोत कार्यालयमा समेत गयौ तर समाधान भएन, अहिले जग्गा बिक्री गर्न समस्या भएको छ’ ।

स्थानीयबासीहरुमा पनि यो समस्या समाधान गर्ने सन्दर्भमा मतभेद देखिएको छ । केहीले आफुले जहाँको जग्गा जोतभोग गरेका छौं, त्यहिकै स्वामित्व पाउनुपर्ने बताउँदै आएका छन् । निरन्तर चार दशकसम्म जोतभोग गरेको जग्गानै आफ्नो स्वामित्वमा ल्याउने एकाथरीको चाहना छ भने अर्काथरीले जहाँ जति आफ्नो नाममा छ, त्यो जग्गा खालि गरेर राज्यले आफुहरुलाई पुर्नवासको व्यवस्था मिलाउनुपर्ने माग गरिरहेका छन् । तर उनीहरुको यो मागलाई के कसरी समाधान गर्ने हो भन्ने सन्दर्भमा सरकारी निकायहरुले कुनै पनि पहल थालेका छैनन् । वडा कार्यालयले समेत यो विषयमा अर्थपूर्ण निर्णय दिन सकेको छैन ।

त्यो ठाउँको जग्गा विवाद समाधानका लागि पहलकदमी लिइरहेका संवाद समूहका संवाद सहजकर्ता शुसील बस्नेतकाअनुसार १० बिगाह जग्गामा त्यस्तो समस्या देखिएको छ । पछिल्लो समयमा त्यस क्षेत्र हुँदै छिल्लीकोट सडक मार्ग कालोपत्रे हुन थालेपछि जग्गाधनीहरु समेत चासो व्यक्त गर्न थालेको सहजकर्ता बस्नेतको भनाइ छ । बस्नेतकाअनुसार २०२७ सालदेखि नै जर्गा चर्चिरहेको अवस्थामा ती बसोबासीहरुको पूर्जामा थोरै र फिल्डमा धेरै जग्गा भएका कारण विवाद समाधानमा थप चुनौति थपिएको छ । बस्नेतले भने, ‘३५ घरधुरीमध्ये सात घरधुरीको समस्या जटिल भएका कारण अन्य घरधुरीवालाको जग्गाको विषयमा समाधान गर्न समस्या परेको छ ’ ।

दुर्गाकुमारी रोका बसोबास गर्दै आएको जग्गा १० कठ्ठा छ तर उहाँको पूर्जामा ४ कठ्ठा जग्गा मात्रै छ । रोकाले भनिन्, ‘हामी वर्षौदेखि यहाँ बसिरहेका छौँ, घरबास यही नै छ कसरी भत्काएर अन्यत्र जान सकिन्छ र ? राज्यले गल्ती गर्ने हामीले सजाय भोग्ने पनि हुन्छ र ?

त्यहाँ रहेका ३५ घरधुरीको जग्गा ३ कठ्ठादेखि १७ कठ्ठासम्म रहेको छ । यद्यपि कतिपयले भने जहाँ पूर्जा छ त्यहीको जग्गा लिएर विवाद समाधान गरिसकेका छन् । स्थानीय पूर्णबहादुर बुढाथोकीले भने, ‘यस्तै समस्या थियो मेरो नामको जग्गा जहाँ थियो त्यो मैले लिए, जहाँ बसेको थिए त्यो जसको थियो उसैलाई दिएर समाधान गरे ।’ उनकोमा समस्या देखिएन किनकि जग्गा लिने र दिने दुबैको बराबर जग्गा थियो । तर अधिकांशको भोगजोत गरेको जग्गाको क्षेत्रफल र लालपुर्जामा भएको क्षेत्रफल फरक फरक छ ।

जहाँ बास छ त्यहाँ बसिरहेका कतिपयले आफ्नो नाममा रहेको जग्गा बिक्री गरिसकेका छन् । बसिरहेको ठाउँको जग्गा अर्कैको नाममा रहेको छ । वर्षौदेखि बसिरहेको बहानामा जग्गा नछोड्दा समस्या बढ्दै गएको छ ।
साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस