
काठमाडौं, साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ तोलामा २००० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २००० रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४१५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय रसिया र युक्रेनबीच भएको युद्धको प्रभावले विश्व बजारमा नै सुन–चाँदीको भाउमा तीब्र उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय बजार अनुसार नेपालमा सुन–चाँदीको मूल्य निर्धारण हुने भएकाले रसिया र युक्रेन युद्धको असर नेपालमा पनि देखिएको हो ।