आगामी वर्षका लागि चाडपर्वमा नौ दिन बिदा थपियो

काठमाडौं । आगामी वर्ष २०७९का लागि सरकारले नौ दिन चाडपर्व बिदा थप गरेको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ मा दसैँ–तिहारको बिदा थप गरी नौ दिन बढाएको हो ।

आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म बिदा दिने निर्णय भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।

त्यस्तै आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ ।

यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस