डाक्टर बनाउने कि सर्टिफिकेट बेच्ने

बिजौरी । कुनैबेला नेपाल संस्कृत विश्वविद्यालयबाट विएएमएस उत्तीर्ण गरेका चिकित्सकहरुले निजी स्वास्थ्य संस्थामा जब पाउन सक्ने छैनन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था तथा प्रोजेक्टहरुले नेपाल संस्कृत विश्वविद्यालयको विएएमएस सर्टिफिकेट हेर्दा एक पटक सोच्ने छन् जबका लागि । लोकसेवा आयोगको लिखित तथा प्रयोगात्मक परीक्षामा सायद यो विश्वविद्यालयको आयुर्वेद क्याम्पसबाट उत्तीर्ण डाक्टरहरुलाई निकै चुनौति हुनेछ ।

अझै स्थिति बिग्रिंदै गएमा विद्यार्थीका अभिभावकहरुले भन्ने छन्, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थान डाक्टर बनाउने संस्था की सर्टिफिकेट बेच्ने संस्था ? भनेर प्रश्न उठाउने छन् । कारण यहाँ अध्ययन गरिरहेका विएएमएसका विद्यार्थीहरुलाई चिकित्सक बन्नका लागि सिक्ने उपयुक्त वातावरण विश्वविद्यालयले सृजना गर्न सकेको छैन । एउटा विश्वविद्यालयले चलाएको आयुर्वेद केन्द्रीय विद्यापीठको शिक्षण अस्पताल दुई वर्षसम्म बन्द भैरहँदा विश्वविद्यालयका पदाधिकारी एवं कार्यकारी परिषद् नतमस्तक भएर बसेको छ । विएएमएस अध्ययन गरिरहेका विभिन्न व्याचका गरी कम्तिमा दुई सयभन्दा बढी विद्यार्थीहरुको भविष्य माथि विश्वविद्यालयले खेलवाड गरिरहेको छ । चिकित्सक पढ्ने विद्यार्थीहरुलाई न त नियमित कक्षा, न प्रयोगात्मक कक्षाका लागि प्रयोगशाला, न बिरामी परीक्षणका लागि ओपिडि सेवा न त शिक्षण अस्पतालमा फार्मेसीकै व्यवस्थापन ।

कसरी चिकित्सा शिक्षा आयोगले यहाँको आयुर्वेद क्याम्पसलाई भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन बिनै निरन्तर सातौं व्याचसम्म स्वीकृति प्रदान गरिरहेको छ ? भन्ने विषय पनि सबैका लागि चांसोको विषय बनिरहेको छ । विश्वविद्यालयका रजिष्टार, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डीन तथा केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य विद्यार्थीको पढाइ व्यवस्थापनका सन्दर्भमा एकले अर्कोलाई जिम्मेवारी थोपर्दै आफु जिम्मेवार भएको अभिव्यक्ति दिइरहेका छन् । अहिले न क्याम्पसका विद्यार्थीहरुका लागि ओपिडि कक्षामा प्रयोगात्मक अभ्यासको वातावरण छ, न प्रयोगशालामा परीक्षणको सुविधा, न त शिक्षण अस्पतालमा अस्पताल फार्मेसी ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयले सो क्याम्पसका लागि आवश्यक भौतिक पूर्वाधार व्यवस्थापन तथा आवश्यक जनशक्ति उपलव्ध गराउने हो । डीनको कार्यालयले नियमित कक्षा सञ्चालनको तालिका र विभिन्न सेमेस्टरमा परीक्षा सञ्चालन लगायतको जिम्मेवारी छ । क्याम्पस प्रशासनले जनशक्तिको माग गर्दै ती जनशक्तिलाई परिचालन गर्ने हो । कार्यकारी परिषदले यी सबै व्यवस्थापनमा निर्णयक भूमिका निर्वाह गर्नुपर्ने हो । तर यी सबै निकाय आफ्नो दायित्वबाट निकै विमुख भएका देखिन्छन् । ‘हामीलाई दुई वर्षसम्म पनि ओपिडिमा प्राक्टिस गर्ने अवस्था सृजना हुन नदिनुमा यी सबैको उपेक्षा रहेको बुझेका छौं, हामीलाई पनि थाहा छ, यो शिक्षाले हाम्रो सर्टिफिकेट बिक्न सक्ने छैन’—केन्द्रीय आयुर्वेद विद्यापीठमा विएएमएस अध्ययन गर्दै रहेका एक जना विद्यार्थीले भन्नुभयो । धेरै पटक आन्दोलनका आवाज उठाउँदा स्वयम् पढाउने गुरुहरुबाट प्रयोगात्मकमा फेल गराइदिने धम्की समेत आउने गरेको ती विद्यार्थीको आरोप थियो ।

क्याम्पस भवनमा दुई वर्ष अघिसम्म जसोतसो ओपिडि सेवा सञ्चालन भएको थियो । केही रोगका विज्ञ चिकित्सकहरुले बिरामीलाई परामर्श दिन थालेका थिए, विएमएलटी दरबन्दीसहित प्याथोलोजी ल्याव पनि सञ्चालनमा थियो । क्याम्पस परिषदको ओपिडि कक्षमै अस्पताल फार्मेसी पनि सञ्चालनमा आएको थियो । तर पछिल्लो समयमा यो र त्यो वाहनामा यी स्थापित सेवाहरु पनि निस्प्रवाहि बन्दै आएको विद्यार्थीहरुको आरोप छ । प्याथोलोजीमा कार्यरत एक जना विएमएलटीका अध्यापिका दुर्घटनामा निधन भएपछि विश्वविद्यालयले अझैसम्म पनि सो पदमा अर्का प्राविधिक राख्न आवश्यक ठानेको छैन ।

क्याम्पसका प्राचार्य निकम्मा जस्तै अभिव्यक्ति दिन्छन् । ओपिडि सेवा कहिले सञ्चालन हुन्छ ? भनेर संवाददाताले सोधिरहँदा क्याम्पस प्रमुख प्राध्यापक मंगलाकान्त झाले अबको एक सातामै ओपिडि कक्ष सञ्चालनमा आउँछ भनेका थिए । त्यो उनै प्राचार्यले संवाददाता सामु बोलेको समय पनि पुरै तीन महिना नाघिसकेको छ । तर अहिले पनि ती प्राचार्यले यस्तै जवाफ दिए, ओपिडि कक्ष तुरुन्तै सञ्चालनमा आउने तयारीमा छ ।

क्याम्पस प्रमुखको तयारी के छ ? आधिकारिक जवाफ त छैन, तर सेवा आयोगले आवश्यकता आह्वानको स्वीकृति दिएमा आफुले पत्रपत्रिकामा विज्ञापन छापेर विएमएलटीको पदपूर्ति गरेर प्याथोलोजी ल्याव पनि सञ्चालन भएपछि मात्रै ओपिडि चल्ने बताए ।

तर यस सन्दर्भमा केन्द्रीय कार्यालयले जे–जस्तो सहयोग गर्नुपर्ने हो त्यो गरिरहेकाले ओपिडि कक्ष सञ्चालनमा क्याम्पस प्रशासनले इच्छा शक्ति देखाउनुपर्ने कुटनीतिक जवाफ दिन्छन् । इच्छाशक्ति नदेखाएर विद्यार्थीको भविष्य खेलवाड भैरहँदा रजिष्टार माधव अधिकारीलाई पनि कुनै चिन्ता छैन । उनकै बोलिअनुसार क्याम्पसको भौतिक पूर्वाधारको थप व्यवस्थापनमा नेपाल संस्कृत विश्वविद्यालयले पञ्चकर्म व्यवस्थापनका लागि दश लाख रुपैया दिइसकेको, बिजौरी क्याम्पसमा आयुर्वेद कविराज तहको कार्यक्रम स्थगित भएपछि त्यहाँ हाजिरी मात्रै गरेर बसेका प्राविधिकहरुलाई विएएमएसमै समायोजन गरिएको तथा सेवा आयोगबाट विएमएलटी लगायतका प्राविधिक कर्मचारी माग्ने अन्तिम तयारी भैरहेको रजिष्टार अधिकारीले बताए ।

तर उनले बोलेका अभिव्यक्ति यथार्थ होइनन् । बिजौरी क्याम्पसबाट मंगलबारसम्म कुनै पनि कर्मचारी विएएमएस कलेज व्यवस्थापनको प्रशासनमा आइनपुगेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डीन प्राध्यापक डा. सञ्जय पोख्रेलले बताए । त्यसैगरी प्राविधिक तथा कर्मचारी मागका लागि सेवा आयोगबाट कुनै पनि आधिकारिक निर्णय अझै नभएको डीन पोख्रेलले बताए । कार्यकारी परिषदले निर्णय गरेर यो यो पदमा कर्मचारी मागौं भनेमा मात्रै डीनको कार्यालयले आवश्यकता आह्वान गर्ने हो । तर कार्यकारी परिषदले यो निर्णय गर्न निकै आनाकानी गरिरहेको छ ।

पटक पटक क्याम्पस व्यवस्थापनले पत्राचार गरे पनि कार्यकारी परिषद विएएमएस कार्यक्रमप्रति सकारात्मक देखिन सकेको छैन । ‘यो क्याम्पसमा सञ्चालनमा आएको आयुर्वेद चिकित्सा हात्तिको देखाउने दाँतमात्रै भएको छ’, संस्थानका डीन पोख्रेलले भने, शिक्षक कर्मचारी डीनले भर्ना गर्न मिल्दैन । जानकार श्रोतकाअनुसार केही उच्च पदस्त अधिकारीहरुनै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सा कार्यक्रम सञ्चालन गर्न चाहँदैनन्, उनीहरुका लागि संस्कृत शिक्षा नै घाँडो भएको छ । त्यसैले विश्वविद्यालयमा विभिन्न समयमा विभिन्न कार्यक्रम सञ्चालनको तयारी भैरहेको अभिव्यक्ति दिंदै आएका छन् । विएएमएस पढ्ने विद्यार्थीलाई प्राक्टिस गर्न एक सय वेडको अस्पताल बनाउन नसक्ने पदाधिकारीहरु फेरी बृहत्त एकीकृत अस्पताल निर्माणका क्रममा माटो परीक्षण गर्दै छन् ।
साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस