चार लाख लिटर क्षमताको रिजर्भ ट्यांकीको शिलान्यास (भिडियोसहित)

बेलझुण्डी। बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सहलगानी आयोजनाको काम शुभारम्भ भएको छ । तुलसीपुर-१९ पकर्रेमा चार लाख लिटर पानी अट्ने रिजर्भ ट्यांकीको शुक्रबार शिलान्यास गरेसँगै सहलगानी आयोजनाको काम शुभारम्भ भएको हो ।

संस्थाले उपभोक्तालाई सहजरुपमा खानेपानीको व्यवस्थापन गर्न र सेवा थप विस्तारका लागि नयाँ रिजर्भ ट्यांकी निर्माण गर्न लागेको हो । पकर्रेमा निर्माण गर्न लागिएको रिजर्भ ट्यांकीले तुलसीपुर १८ र १९ को चौवाखोलादेखि पूर्वपट्टीको करिब ९ सय घरधुरीमा खानेपानीको धारा विस्तार गर्न सकिने अध्यक्ष प्रदीप गौतमले जानकारी दिए ।

ट्यांकीको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शिलान्यास गरेका हुन् । नगरप्रमुख पाण्डेले सहलगानीको आयोजना सम्पन्न भएपश्चात् खानेपानीको दीर्घकालीन समस्या समाधान हुने बताए । उनले नागरिकलाई खानेपानीको सहज व्यवस्थापनमा सरकारको दायित्व रहेको बताउँदै बेलझुण्डी खानेपानी संस्थामार्फत धेरै उपभोक्ता लाभाम्बित हुने बताए ।

खानेपानी संस्थाले सेवालाई थप विस्तार गरी दीर्घकालीन खानेपानीको समस्या समाधानका लागि करिब ३१ करोडको सहलगानी आयोजनाको काम अघि बढाएको हो । कुल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान हुनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । आयोजनाको काम अन्तर्गत ५ वटा मुहान, ५ वटा रिजर्भ टंकी, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइपलाईन विस्तार हुने छन् ।

आयोजना सम्पन्न भएमा २४ सै घण्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । सहलगानी आयोजनाको काम मृत सञ्जिवनी स्वामीनारायण सगुन जेभि रुपन्देहीका सञ्चालक सहदेव खड्काले सम्झौता मिति अगावै काम सक्ने बताए । सहलगानी आयोजनाको काम २०८० साल भदौ १५ गतेसम्म सक्नुपर्ने सम्झौता छ ।

संस्थका अध्यक्ष प्रदीप गौतमको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतमा रिजर्भ ट्यांकीको शिलान्यास गरिएको हो । संस्थाका सदस्य देवकला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली, १९ का अध्यक्ष रामबहादुर योगीले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य पुस्कर रावतले गरेका थिए ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस