काठमाडौं । रुस र युक्रेनबीचको तनावलाई बहाना बनाउँदै व्यापारीहरुले सबै प्रकारका खाद्यान्नमा उच्च मूल्य वृद्धि गरेका छन् ।
महँगीले उपभोक्ता मारमा परिरहेको बेला प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बजारमा हस्तक्षेप बढाउन सकेको छैन ।
आयातित कच्चा पदार्थको मूल्य महँगिएको भन्दै दुई साताअघि मात्रै उद्योगीले खाने तेलको मूल्य बढाएका थिए । नेपाल वनस्पती घिउ तेल उत्पादक संघकाअनुसार कच्चा पदार्थ महँगो हुँदा सबै प्रकारका तेलमा प्रतिलिटर १५ रुपैयाँसम्म मूल्य बढाइएको छ ।
खाने तेलमा भएको मूल्य वृद्धिको एकसाता नबित्दै बजारमा दूध र दूधबाट बनेका सबै प्रकारका परिकारको मूल्य बढ्यो । दूधको मूल्य लिटरमा ९ देखि २० रुपैयाँसम्म वृद्धि हुँदा पनिर, घिउ, दही जस्ता दुग्ध पदार्थको कम्तीमा १० देखि बढीमा १०० रुपैयाँसम्मले बढेको नेपाल डेरी उद्योग संघले जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा नेपाल खुद्रा व्यापार संघले पठाएको विवरणअनुसार चालु आवको ६ महिनाको अवधिमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य थोकमै वृद्धि भएको छ ।