
बिजौरी । बाइसे/चौबिसे राजाहरुको राज्य तथा धार्मिक कथनअनुसार सतीदेवीको कुम पतन भएको पुण्यस्थलका रुपमा चिनिदै आएको तुलसीपुर उपमहानगरपालिका–१९ अवस्थित छिल्लीकोट पछिल्लो समयमा पर्यटनको हटस्पट बन्दै छ । आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने स्थानीयबासीको सोंचलाई स्थानीय तथा प्रदेश सरकारको आर्थिक एवं प्राविधिक सहयोगले छिल्लीकोटले पर्यटकीय पूर्वाधार निर्माणलाई व्यापक बनाउन थालेको छ ।
भग्नावशेषका रुपमा रहेको छिल्लीकोट दरबार, ऐतिहासिक एवं धार्मिक स्थल कालिका मालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले प्रख्यात छिल्लीकोटमा अहिले थप पर्यटकीय पूर्वाधारहरु निर्माण हुन थालेपछि यसले थप पर्यटक बटुल्न थालेको अनुभूति स्थानीयबासी स्वयम्ले गरेका छन् । छिल्लीकोट अवलोकन गर्न आउने र फर्कनेहरुको सुविधाका लागि स्थानीयबासीले होमस्टे सञ्चालन गरेपछि कम्तिमा वन ‘नाइट स्टे’ को थलो बन्न थालेको छ । एक पटकको भ्रमणमा त्यहाँ पुग्ने पर्यटकहरुले कालिका मालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् ।
सडक यातायातको अवस्था सहज नभए पनि पर्यटकीय क्षेत्र छिल्लीकोटलाई जोड्न थुप्रै लिंकरोडहरु निर्माण भैसकेका छन् । छिल्लीकोटले दुधरासलाई जोडेको छ, छिल्लीकोटले स्यालापानी हुँदै बिजौरीलाई जोडेको छ, छिल्लीकोटले दहवन, होलेरी र स्वर्गद्वारीलाई पनि लेकैलेक सडक यातायातले जोडेको छ । अर्थात् पर्यटकहरुले इच्छाएको पदमार्गबाट छिल्लीकोटलाई छुन सक्ने छन् । यसमा पनि पछिल्लो समयमा निर्माण सुरु भएको ऐतिहासिक एवं साहसिक पर्यटकीय मनोरञ्जनको माध्यम जीपलाइनले अर्को मनोरन्जनको आधार निर्माण गर्ने छ । एक वर्षभित्रै जीपलाइन सञ्चालन हुने अपेक्षा छिल्लीकोटको छ । निजी क्षेत्रबाट निर्माण सुरु भएको जीपलाइन सेवा सम्भवतः एक वर्षमै सञ्चालनमा आउने सञ्चालकहरुले बताएका छन् । अझै पर्यटकको आगमन बढाउनका लागि छिल्लीकोटमा केवलकारको पनि प्रारम्भिक सर्वे भैसकेको छ ।
पाहुनाका लागि होमस्टे
छिल्लीकोटका स्थानीयबासीले छिल्लीकोटको भ्रमणलाई कम्तिमा पनि एक दिन बढाउने अभ्यासमा छन् । एक दिनको बसाइ छिल्लीकोटमै भन्ने उनीहरुको चाहना छ । यसलाई व्यवस्थापन गर्न त्यहाँ स्थानीयकै स्वामित्वमा कम्तिमा ८ वटा सामुदायिक होमस्टेहरु दर्ता भएर सञ्चालनमा आइसकेका छन् । थप २ वटा होमस्टे सञ्चालनको प्रक्रियामा रहेका छन् ।

बाँसले बारेको भान्सामा स्थानीय परिकारले पाहुनाहरुलाई लोभ्याइरहेका हुन्छन् । भान्साको पालीमा एउटा मादल झुण्ड्याइएको, मादलकै तुनामा मुरली । कोठामा थिए खैचडी, घरबुनाका मगर संस्कृतिका पहिरनहरु सजाइएका छन् । छमछम गर्ने पाउजु अनि मगर नृत्यका बेला लगाइने अन्य सामग्रीहरु पनि । यी सबै एक रात बस्ने पाहुनाका लागि हुन् ।
‘भर्खरै चल्न सुरु मात्रै गरेका थियौं, कोरोनाले फेरि भताभुंग बनायो, होमस्टेका गतिविधिहरुलाई, आशा छ कोरोना मत्थर भएपछि होमस्टेलाई फेरि दौडाउने छौं बेगको गतिमा’, छिल्लीकोट सामुदायिक होमस्टे ग्राम युनिट नं. २ का सञ्चालक परवीर पुनले भने । पुनकैअनुसार स्थानीय सरकारसँगको सहकार्य र केही दातृ निकायको सहयोगमा उनीहरुले छिल्लीकोटमा होमस्टे सञ्चालनमा ल्याएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले पाहुनाहरुका लागि सुत्ने बिछौना र बाद्यवादनका सामग्रीहरु सहयोग गरेको छ । कारितास नेपालले पनि अन्य केही सहयोग गरेपछि छिल्लीकोटबासी होमस्टे सञ्चालनमा हौसिएका हुन् ।
महंगो छैन, छिल्लीकोट । घरमा आउने आफन्तलाई जस्तै सेवा दिन्छन् उनीहरुले पाहुनालाई पनि । स्थानीय उत्पादनकै स्वाद छिल्लीकोट होमस्टे ग्रामको विशेषता हो । कोदोको ढिडो, सिस्नुको तरकारी टिमुर र मालागेडीको मसलाको स्वादमा, नास्तामा फापर वा मकैको रोटी, लोकल कुखुराको मासु, अनि पाहुनाको माग भए स्थानीय रैथाने खसीबोकाको मासुको स्वाद पनि ।
सादा खानाको दाम प्रतिव्यक्ति १ सय २० रुपैयाँ, मासु खानाको प्रतिव्यक्ति प्रतिछाक ३ सय रुपैयाँ उनीहरुले तोकेका छन् । हल्का मनोरन्जनका लागि हल्का स्थानीय अन्नको झोल पनि पाहुनालाई उपलव्ध छ । उनीहरुले पाहुनालाई एक रात सुत्न दिएको चार्ज प्रतिव्यक्ति १ सय रुपैयाँ लिने गरेको बताए ।
अर्को होमस्टे सञ्चालक जीवराज रेउलेको भनाइमा जुनबेला होमस्टे राम्रोसँग चलिरहेको थियो, पहिलो महिनामै मैले खर्च कटाएर २७ हजार नाफा कमाएको थिए । उनको होमस्टेमा एक रात बिताउनका लागि बढीमा ८ जना अटाउने ठाउँ छ । अर्थात् पुरै छिल्लीकोटका होमस्टेले करीव ७० जना पाहुनालाई एक रात सुताउन सक्ने हैसियत राख्छ । दिउँसो आउने र फर्कनेलाई उनीहरुले होमस्टेका पाहुनाभन्दा रहेनछन् । उनीहरुले एकछाक होमस्टेमा खानपान गरे पनि भ्रमणकर्ता मात्रै बन्दारहेछन् त्यस्ता पाहुना । रेउलेको घरको आँगनमै क्याम्प–फायर पनि हुन्छ रे चिसो मौसममा । पाहुनाको चाहनाअनुसार क्याम्प फायर पनि चलाउने गरेको रेउलेले बताए ।
‘एक/दुई जना अम्रिकन पाहुना तथा पोखराको डाँडाघरे वाइन कम्पनीका ७ जना पाहुना पनि मेरोमा एक रात बसेर गएका हुन्’, उनले भने ‘अरु पाहुना त धेरैजसो दाङ जिल्लाकै ।’ रेउले र पुनजस्तै गाउँभरी ८ वटा सामुदायिक होमस्टे दर्ता भैसकेका रहेछन् । सबै होमस्टेमा खानपान, बसोबास र मनोरञ्जनको शुल्क समान तोकिएको रहेछ । छिल्लीकोट आउने पाहुनाहरुलाई पालैपालो सबै होमस्टेमा बाँडिने रहेछ ।
कसैले बढी र कसैले पाहुना पाउँदै नपाउने अवस्था भने रहेनछ । ‘यहाँ कम्तीमा एक रात बस्न आउने पाहुनाको हरेक दिन रेकर्ड राख्ने गरेका छौं, सबै होमस्टेलाई आलोपालो पाहुना राख्न व्यवस्थापन हुन्छ’, होमस्टे सञ्चालन सचिवालयका संयोजक परबीर पुनले भने । उनीहरुले पाहुनालाई कसरी सत्कार गर्ने ? के–कस्ता सेवाहरु पाहुनाले खोजिरहेका हुन्छन् भन्ने सिक्न नेपालका विभिन्न होमस्टेहरुको पनि अवलोकन गरिसकेको बताए ।
त्यसैका आधारमा छिल्लीकोटमा विशेषगरी अर्गानिक स्थानीय उत्पादनको स्वाद र मगर संस्कृतिको मनोरञ्जन पाहुनालाई उपलव्ध गराउँदै आएको अर्का होमस्टे सञ्चालक पूर्ण पुनले बताए । एक रात बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले छिल्लीकोटमा दुर्लभ वनस्पति मालागेडीको वन, मालिका–कालिकाको मन्दिर, ऐतिहासिक छिल्लीकोट दरबार, यहाँको पुरातात्विक धार्मिक इतिहास, छिल्लीकोट राज्यको ऐतिहासिक पृष्ठभूमि, सयौं चराचुरुंगीहरुको प्राकृतिक मनोरम गुञ्जनलगायत विभिन्न रमणीय स्थानहरुको अवलोकन गर्न सक्ने स्थानीयबासीहरुको भनाइ थियो ।
नेपालकै लामो जीपलाइन
छिल्लीकोटमा पहिलो पटक जीपलाइन निर्माण गर्न थालिएको छ । तुुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा पहिलो पटक जीपलाइन निर्माण गर्न थालिएको हो । नेपालका विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसँगै पहिलो पटक दाङको छिल्लीकोटमा सहासिक खेल जीपलाइन सञ्चालनमा ल्याउन थालिएको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक शिव श्रेष्ठकाअनुसार एक करोड दश लाखको लागतमा जीपलाइन बनाउन थालिएको हो । जीपलाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेपछि स्थानीय सामुदायिक वनको क्षेत्रमा जीपलाइन निर्माणको काम सुरु भैसकेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको भूल्के सामुदायिक वनसँग जीपलाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले प्रतिवर्ष प्रतिहेक्टर ३५ सय कर तिनुपर्नेछ । निर्माण कम्पनीले भने जीपलाइन क्षेत्रमा दुई कठ्ठा जग्गा मात्रै प्रयोग हुने बताएको छ ।
जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरी खोरमा ल्याण्डिङ हुने गरी निर्माण गर्न थालिएको छ । करिब १२ सय मिटरको दुरीमा रहनेछ । निर्माण कम्पनीले उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दुरीको दाबी गरेको छ । निर्माण शुरु गरेको तीन महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालक श्रेष्ठले बताए ।
चैते दशैमा त्यस क्षेत्रमा मेला लाग्ने भएकाले त्यसअघि नै जीपलाइन सञ्चालनमा ल्याइने बताइएको छ । जीपलाइनमा चढे बापत् स्थानीय मन्दिर व्यवस्थापन, विकासका लागि प्रतिव्यक्ति एक सय छुट्याउने सम्झौता गरिएको छ । सञ्चालक शिव श्रेष्ठकाअनुसार त्यहाँ कम्पनीले जीपलाइन निर्माणसंगै रिसोर्ट र मन्दिर क्षेत्रमा पार्क समेत निर्माणको लक्ष्य राखेको छ । स्थानीय परवीर पुनले छिल्लीकोटको ऐतिहासिक, धार्मिक, जैविक क्षेत्रको प्रसार प्रचारका साथै जीपलाइन सञ्चालनले पर्यटकीय क्षेत्रकारुपमा विकास गर्नका लागि थप टेवा पु¥याउँने बताए ।
मालागेडिको वन
छिल्लीकोटको अर्को अलौकिक विशेषता भनेका मालागेडिको वन हो । विश्वमै दुर्लभ मानिने सुगन्धकोकिला(मालागेडि)को वन सम्भवतः नेपालभरमा छिल्लीकोटमा मात्रै छ । यो दुर्लभ वनस्पतीका लागि उपयुक्त हावापानी भनेको उत्तरी हिमशृङ्खलाबाट वहने हावा ठोकिनु पर्दछ । अर्थात् वन उत्तरतर्फ फर्केको हुनुपर्ने अवस्था छिल्लीकोटमा मात्रै छ । जुन दुर्लभ वनस्पति छिल्लीकोटको पर्यापर्यटकीय मनोरञ्जनको अवसर मात्रै होइन, छिल्लीकोटको आन्तरिक श्रोत पनि हो । यहि मालागेडीको वनले छिल्लीकोटको वर्षभरीको खर्च जुटाउने गरेको छ । हरेक गाउँलेका पाखा, बारीमा मालागेडीका वडेमानका रुखहरु छन् । एउटै रुखमा बढीमा दुइए लाख रुपैयाँसम्म मुल्यको मालागेडी फल्ने गरेको स्थानीयबासीहरुले बताएका छन् । साक्षी खबरबाट