
बिजौरी । खोप नलगाएकै कारण विद्यार्थीहरु असुरक्षित भएको भन्दै सबैभन्दा पहिले सरकारले माघ १५ सम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द आह्वान गरेको छ । यो अवधिमा सबै विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएर संक्रमणको अवस्था हेरी पुनः विद्यालय सञ्चालन गर्ने स्थानीय सरकारले तयारी गरेका थिए । तर विद्यालय खुल्न तीन दिन बाँकी हुँदा पनि विद्यार्थीहरुका लागि खोप कार्यक्रम अनिश्चित भएको छ । स्थानीय सरकारले भने विद्यार्थी खोप अभियानको भाका सार्दै आएको छ ।
‘हामीलाई विद्यालय बन्द गराउनु अघि स्थानीय सरकारले माघ १५ अघिनै सबै विद्यार्थीहरुलाई खोप लगाइसक्ने र त्यसपछि पठनपाठन सुरु गर्ने भनेको थियो, तर खोप कहिले आउने भन्ने विषयमा स्थानीय सरकारले अझै स्पष्ट अभिव्यक्ति दिएको छैन’, तुलसीपुर स्थित गोरखा माविका प्राचार्य विजय जिएमले भने । कहिले खोप छैन त कहिले सिरिन्ज छैन भन्दै स्थानीय सरकारले विद्यार्थीहरुलाई खोप उपलव्ध गराउने सन्दर्भमा कुनै गम्भिरता नदेखाएको पनि प्राचार्य जिएमको भनाइ थियो ।
उनकाअनुसार लुम्बिनी प्रदेशमा दाङ मात्रै एक्लो जिल्ला हो, जहाँ विद्यार्थीहरुका लागि खोप कार्यक्रम सुरु भएकै छैन। लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा १२ देखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम सुरु भएसकेको उनको अभिव्यक्ति थियो।
राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डिसीले पनि स्थानीय सरकारले विद्यार्थीलाई खोप लगाउने विषयलाई प्राथमिकतामा नराखेकोमा आक्रोश व्यक्त गर्नु भएको छ । सबै क्षेत्र खुल्ला रहेको अवस्थामा विद्यालय मात्रै बन्द गराएर विद्यार्थीहरु सुरक्षित हुन नसक्ने उहाँको भनाइ थियो । ‘कोरोना भाइरसको संक्रमणको चेन ब्रेक गर्ने हो भने त सबै भिडभाड हुने क्षेत्र बन्द गर्न आवश्यक छ, विद्यालय बन्द गरेर त्यहाँका विद्यार्थीहरु विभिन्न पार्क र क्याफेहरुको भिडमा गइरहँदा विद्यार्थी सुरक्षित हुन्छन् भन्न सकिन्न’, प्राचार्य ठाकुरले भने । उनको भनाइमा तत्काल विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय सञ्चालनको वातावरण स्थानीय सरकारले मिलाउनु पर्दछ ।
त्यसैगरी फोर्टिनाइन माध्यमिक विद्यालयका प्राचार्य वामदेव पोख्रेलले पनि विद्यार्थीहरुलाई तत्काल खोप लगाएर विद्यालय सुचारु गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । सबै क्षेत्र जसोतसो चलिरहेको भए पनि संक्रमणका कारण दुई वटा शैक्षिक सत्र भने पुरै खेर गएको उनको भनाइ थियो । यसमा सरकार अलि गम्भीर भएर विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्न नहुने पनि उनको तर्क थियो ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा तथा जनस्वास्थ्य शाखा पनि विद्यार्थीहरुलाई खोप लगाउने सन्दर्भमा गम्भीर नदेखिएको विद्यालयहरुले आरोप लगाएका छन् भने अभिभावकहरु पनि विद्यार्थीहरुलाई खोप लगाउन नपाउँदा त्रसित बनेका छन् । ‘कम्तिमा पहिलो डोज खोप उपलव्ध गराए त विद्यार्थीलाई केही ढुक्क भएर स्कुल पठाउन सकिन्थ्यो, तर सरकार विद्यार्थीको भविष्यमा कत्ति पनि गम्भीर देखिएन, जहिल्यै पनि विद्यार्थीलाई नै तारो बनाइन्छ’–तुलसीपुर उपमहानगरपालिक–१७ कि अभिभावक युवा पाण्डेले भने ।
विद्यार्थीहरुलाई संक्रमणबाट सुरक्षित बनाउन भन्दै सरकारले मुलुकका ५६ जिल्लामा विद्यार्थी खोप कार्यक्रम सुरु गरिसकेको छ । तर दाङ जिल्लामा भने खोप ल्याउन नसक्दा अभिभावकहरुले यहाँको स्वास्थ्य कार्यालय, प्रदेश सरकार र स्थानीय सरकारप्रति आक्रोश पोख्न थालेका छन् । तर स्थानीय सरकारका जनस्वास्थ्य अधिकारीहरुले विद्यार्थीहरुका लागि खोप अझै अन्योलपूर्ण रहेको बताएका छन् । ‘हामीले पटक पटक माग गर्यौ, सबै विद्यार्थीहरुको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय मार्फत प्रदेश सरकारलाई समेत माग गरेका छौं’, तर खोप आउने अझै निश्चित छैन’, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोरोना फोकल पर्शन विमल केसीले भने । अग्रपंक्तिका नागरिकहरुका लागि बुस्टर डोज समेत धमाधम लगाइंदै गर्दा विद्यार्थीहरुलाई खोप अनिश्चित हुनु भनेको अत्यन्तै खेलवाड भएको पनि सर्वत्र गुनासो हुन थालेको छ ।
फाइजरले धोका दियो, मोडना आउँदैः जनश्वास्थ्य
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयले फाइजर कम्पनीको खोप कुदाकुर्दै ढिला भएको भन्दै अब मोडना कम्पनीको खोप ल्याउने तयारी भएको जनाएको छ । फाइजर आयात गर्ने कम्पनीले भाका सार्दै गएकाले लुम्बिनी प्रदेश सरकारले अर्को कम्पनी मोडनाको खोप ल्याउन थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ‘हामीले पहिले फाइजर कम्पनीको खोप ल्याउन प्रक्रिया अघि बढाएका थियौं, तर सो कम्पनीले धोका दिएपछि अब मोडना कम्पनीको खोप आउँदै छ’, जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने ।
उनले बुधबार विहानसम्म सो कम्पनीको खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइपुग्ने बताए । दाङ जिल्लामा घोराही उपमहानगरपालिकामा केही विद्यालयका विद्यार्थी बाहेक सबै पालिकाका विद्यार्थीहरुका लागि खोप कार्यक्रम सुरु भएको छैन । कार्यालयमा पालिकाहरुले पठाएको तथ्यांकअनुसार करीव ७० हजार विद्यार्थीहरुलाई खोप उपलव्ध गराउनुपर्ने छ । ‘सत्तरी हजार बालवालिकालाई पुग्ने खोप आउने निश्चित भएको छ, सिरिन्ज पनि क्रमश आउने छ’, फोकल पर्शन चन्दले भने ।
उनको भनाईमा सम्भवतः माघ १६ गतेदेखि सबै पालिकामा बालवालिकाहरुका लागि खोप कार्यक्रम सुरु हुने छ । दुई वटा डोज लगाउनुपर्ने सो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
साक्षी खबरबाट