
धनगढी । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चोरेको सीसीटीभी फुटेजबाट पत्ता लागेको हो ।
सोही मोबाइल ग्यालरीका सञ्चालक सुबास रावलले पसलबाट दुई वटा मोबाइल प्रहरीले नै चोरी गरेको सीसीटीभी फुटेजबाट थाहा पाएपछि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए ।
बिहीबार ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चोरी गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइएको हो ।
बिहीबार प्रहरीले उक्त मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा हानेको थियो । सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावलका भाइ पर्ने दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्दै उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।