काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ ।
मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको छ ।
यो विधेयक संसदबाट पारित भएर ऐन बनेपछि हालको सीटीईभीटी खारेज हुनेछ भने प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकाससम्बन्धी काम गर्न अर्को संरचना प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम परिषद् (टीईभीटी) को स्थापना हुनेछ ।
टीईभीटीमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुनेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै प्रदेशको शिक्षा हेर्ने मन्त्री मध्येबाट दुई जना, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट एक जनालगायतका व्यक्तिहरु सदस्य रहने प्रस्ताव छ । त्यस्तै कार्यकारी अधिकार प्रमुख कार्यकारी अधिकृतमा रहने परिकल्पना गरिएको छ ।
सीटीइभीटीईका सदस्य सचिव जीवनारायण काफ्लेले नयाँ विधेयकको मस्यौदा भएको सुनेको बताए । उनका अनुसार विधेयक ड्राफ्ट भएको सुनेका छौं । विधेयक पास गर्नको लागि मन्त्रिपरिषद पुगेको भन्ने पनि आइरहेको छ छलफल नै नगरी त पास नहुनुपर्ने हो ।


