अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम सुधार हुने

काठमाडौं । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ ।

मौसमविद मञ्जु वासीले यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँछ र काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने पनि बताइन् ।

यस्तो हुने छ तीन दिनको मौसमी अवस्था

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

यसैगरी माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ १ गते राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस