धनगढी । सुदूूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन् । सीमा नाकाहरु खुला रहनुका साथै भारतबाट नेपाल फर्किनेहरूमा कोरोना संक्रमण पुष्टि हुन थालेको हो ।
भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् ।
प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको १०० बेडको आइसोलेसन संक्रमितले भरिएको छ ।
आइसोलेसन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाए ।