
लमही । जखेराताल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा थोरै बचतबाट शुरु गरिएको बचत संकलन अभियानका कारण अहिले महिलाहरु सफल उद्यमी र व्यवसायी बन्न सकेकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि देबका बेलबासेले हिजोका दिनमा मासिक २० रुपैया संकलन गरेर सुरु गरेको बचत संकलनको अभियान अहिले २ करोड बढी भएको छ । सोही बचतका कारण अहिले थुप्रै महिलाहरु स्वरोजगारतर्फ उन्मुख र आर्थिक रुपमा बलियो भएको बताए ।
उनले बचत समुहमा आबद्ध भएका धेरै महिलाहरु अहिले राजनीतिको नेतृत्वदायी भूमिकामा रहेको उल्ल्खे गर्दै बेलबासेले आर्थिकसँगै संस्थागत बचत गर्ने बानिको विकासले सामाजिक र राजनीति क्षेत्रमा समेत अग्रसर हुन प्रेरणा मिलेको बताए ।
कार्यक्रममा अर्का बक्ता नेपाल पत्रकार महासंघ दाङका निर्बतमान अध्यक्ष लिला शाहले बचत तथा ऋण सहकारीमा आबद्ध भएका महिलाहरुलाई आर्थिक ब्यवस्थापनको लागि साहुको घरदैलोबाट चर्को ब्याज लिएर गर्जाेटार्ने समस्याको अन्त्य भएको बताइन् । कान्तिपुर सहकारीका सचिव शोभाकर आचार्यले महिलाहरुलाई संगठित र आर्थिकरुपमा बलियो हुनका लागि सहकारीले राम्रो अवसर दिएको र त्यसलाई सबैले सहि तरिकाले उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा ऋण समितिका संयोजक उदयरानी चौधरी, अन्जु चौधरी, संस्थाका पूर्व सचिव सिता पौडेललगायतले बोलेका थिए । सो अवसरमा सचिव सरस्वति भुसालले वार्षिक र कोषाध्यक्ष माया पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
२०६४ सालमा साबिक सोनपुर गाबिस स्तरीय महिला बचत तथा ऋण सहकारी संस्थामा हाल ९ सय २९ जना सदस्य रहेका छन् । कार्यत्रmमको सञ्चालन सचिव सरस्वति भुषालले गरेकी थिइन् । सो अबसरमा जेष्ठ नागरिकसहित संस्थाका विभिन्न विधामा उत्कृष्ट भएका समुह समितिलाई सम्मान गरिएको थियो ।