
पीपरी(देउखुरी) । नामसालिङ सामुदायिक विकास केन्द्र दाङ र राप्ती गाउँपालिकाको कार्यालयको संयुक्त आयोजनामा पलम्विङ तालिम सञ्चालन गरिएको छ ।
राप्ती गाउँपालिका क्षेत्रका विभिन्न वडा तथा गाउँमा खानेपानी आयोजनाको काममा सहजता ल्याउन तथा बढ्दो बेरोजगारी न्यनीकरणका लागि सीप प्रदान गर्ने उद्देश्यका साथ नामसालिङ र गाउँपालिकाले ग्रामिण खानेपानी मर्मत संभार कार्यकर्ता तालिमको आयोजना गरेको हो ।
राप्ती क्षेत्रका ९ वटै बडाका सहभागी रहेको ग्रामिण खानेपानी मर्मत संभार कार्यकर्ता तालिम पश्चात यस क्षेत्रमा रहेका खानेपानी संस्थामा आवद्ध उपभोक्ताहरुले सहज तवरले सानातिना मर्मत सम्भार गर्न सक्ने राप्ती गाउँपालिकाकी प्राविधिक गिता चौधरीले बताइन् ।
प्राविधिक चौधरीले तालिममा सहभागीले पानीका पाइप जडान कार्य सहजै गर्न सक्ने र खानेपानी योजनामा आगामी दिनमा रोजगारी समेत पाउन सक्ने बताइन् । सात दिने ग्रामिण खानेपानी मर्मत सम्भार कार्यकर्ता तालिममा सहभागी वडा नं ९ रुपाकोटका विष्णु बहादुर चुहान मगरले तालिम पश्चात धेरै कुरा सिकेको बताउदै आफुले आगामी दिनमा सीपको प्रयोगद्वारा फाइदा दिने बताए ।
नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिकाका विभिन्न वडामा सोलार लिफ्टिङ खानेपानी योजना तथा सिचाइको काम सञ्चालमा ल्याएको अवस्थामा सञ्चालीत योजनाको दिगो पनाको लागि स्थानीय उपभोक्तालाई समेत तालिममा सहभागि गरिएको नामसालिङका जिल्ला कार्यक्रम प्रमुख शशांक बाबु आचार्यले बताए ।