रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.६ को दिव्य ज्योति प्रावि र माडी गाउँपालिकाको वडा नं.३ जोड्ने मोटर सडकको अनुगमन गरिएको छ । परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष हित कुमारी बुढामगरको संयोजकत्वमा उक्त सडकको अनुगमन गरिएको हो ।
मोटर सडकको अनुगमनमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव राज न्यौपाने, योजना शाखा अधिकृत कृष्ण चौधरी, सव इन्जिनियर खकेन्द्र बुढामगर, वडा ६ का वडाअध्यक्ष भानसिङ बुढामगर, सोही वडाका सदस्य भूपेन्द्र बुढामगर, सव इन्जिनियर मोहन घर्तीमगर र पत्रकार सुर्य प्रकाश बुढामगर लगायतको टोलीले अनुगमन गरेको थियो ।
अनुगमन गर्दै उपाध्यक्ष बुढामगरले दुई ओटै पालिकाको सिमाना जोडिएमा साच्चिकै यहाँका नागरिक र गाउँपालिकाको सम्बन्ध निकट हुने बताइन् । साथै माडी गाउँपालिका ३ ले पनि छिट्टै सिमानामा मोटर सडक जोड्नेमा आफू विश्वस्त भएको बताएको छ ।
उक्त सडकको एक ठाउँको मोडलाई सुधार गर्न र सडकको ढलको व्यवस्थापन गर्नुपर्ने सव इन्जिनियर खकेन्द्र बुढामगरको सुझाव रहेको थियो । त्यस्तै वडा नं. ६ ले सिमानासम्म मोटर सडक पुर्याइसकेको छ भने माडी गाउँपालिका वडा नं.३ पनि सडक जोड्ने तयारीमा रहेको छ ।
गाउँपालिकाको करिब ७ लाख रुपियाँ लागतमा सडक दुई वडा बीचको सिमानासम्म पुगेको निर्माण समितिका अध्यक्ष अमु बुढामगरले बताए । मोटर सडक अनुगमनमा स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।