कपिलबस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कविलवस्तुले पुस २७ गते अर्थात पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।
राप्रपाका केन्द्रीय सदस्य ध्रुब बहादुर रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, लुम्बिनि प्रदेशका कनिज फतमा, रग्रेज देवेन्द्र ,श्रीवास्त्वा सैइद, मोहमद शाह, जिल्ला उपाध्यक्ष ईदिस मुसलमान, चन्द्र भन्डारी र जिल्ला सचिव प्रेम शंकर सुक्ल सहितको प्रतिनिधिमण्डलले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यलयमा मंगलबार ज्ञापन पत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ ।
राप्रपाले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ । नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माताको सम्मानमा राष्ट्रको तर्फबाट कुनै पनि कमी हुनु हुँदैन भन्ने राप्रपाको अविचलित मान्यता रहेको ज्ञापन पत्रमा उल्लेख छ । साथै राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वासमाथि चोट नपुग्ने भन्दै पुस २७ गते उक्त पर्व मनाउनको लागि सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ ।
त्यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न र त्यो दिन राष्ट्रिय पर्वको रूपमा मनाउन सार्वजनिक विदाको माग गरेको राप्रपाका केन्द्रीय सदस्य ध्रुब रायमाझीले जानकारी दिए ।