राष्ट्रिय सभा सदस्यका लागि दाङमा छ जनाको मनोनयन दर्ता

घोराही । लुम्बिनी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय दाङमा राष्ट्रिय सभा सदस्य पदका लागि छ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ताका लागि मंगलबार विहान दश बजेदेखि दिउँसो तिन बजेसम्म समय तोकिएको थियो ।

राष्ट्रिय सभा सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेशबाट चार राजनीतिक दलको तर्फबाट छ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । यस्तैगरी कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका कुल प्रसाद विश्वकर्मा र नेकपा एकीकृत समाजवादीको तर्फबाट पाल्पाका राजेन्द्र लक्ष्मी गैरेले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारहरु विरुद्ध बुधबार दावी विरोध गर्न सकिने छ भने २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रशान गरिने उनले जानकारी दिए । प्रदेशबाट एक जना दलित, एक जना महिला र अन्य समुदायका एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी जम्मा २९६ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस