अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई सहित उनका परिवारका सदस्यहरु छोरा, आमा र दिदीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र वडा ६ घर भएका धनप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई र धनप्रसादकी दिदी नन्दकलीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमती सुशिला भट्टराई, भाइ नरेन्द्र भट्टराई र तीन वर्षीय छोरा विवश भट्टराई अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

घटना बारे विहान मात्र जानकारी भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार त्यहाँ टिनका कोइला बालेको देखिएको छ र सबै झ्यालहरु बन्द गरेर सुतेका कारण निसास्सिएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । धनप्रसाद विगत तीन वर्षदेखि भेरी अस्पतालको स्टोर शाखामा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस