माओवादी महाधिवेशन निर्वाचन तालिका प्रकाशनको तयारीमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले विधान मस्यौदा पारित भएलगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन सँगै भोटिङको लागि तयारी अवस्थामा रहेको बताए ।

अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् ।

समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस