काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
बलात्कार अभियोगमा पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र थप एक जना बुधबार बिहान पक्राउ परेको बताए । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।
उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको एसपी मैनाली बताउँछन् ।
सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।