प्रतिष्ठा गुमाउँदै स्वास्थ्य विज्ञान प्रतिष्ठान


घोराही । पाँच दिन अघि सुत्केरी गराउन भनी दाङबाट एम्बुलेन्समा बाँकेतर्फ जाँदै गर्दा एम्बुलेन्समै बच्चा जन्मियो, अस्पताल नपुग्दै बाटोमै बच्चाको निधन भयो । सुत्केरी व्यथा लागेर चार घर खुलिसकेको बताइएकी घोराही उपमहानगरपालिका वडा नं. १ सिमलताराकी सुनिता थापाले बाँकेतर्फ जाने क्रममा लमही नगरपालिका वडा नं. ९ अमेलियामा शुक्रबार बिहान छोरालाई जन्म दिनु भएको थियो । जन्मिएको बच्चाको केही बेरमै मृत्यु भयो ।

बिहीबार राति १२ बजेतिर सुनिताको रक्तश्राब भएपछि घर परिवारका सदस्यले सुनितालाई घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए । प्रतिष्ठानका स्वास्थ्यकर्मीले हेरेपछि सबै ठिक छ अहिले घर जानुहोस् र भोलि बिहान ८ बजे फेरि आउनुहोला भनि पठाएको थियो । अस्पतालले भनेकै समयमा उनीहरु शुक्रबार बिहान फेरि ८ बजेतिर प्रतिष्ठानमा पुगे । तर, त्यतिखेर भने पाँच घर खुलिसकेको हुँदा बच्चा बचाउने भए तुरुन्त बाँके लैजान अस्पताल प्रशासनले उर्दी गरेपछि उनीहरु एम्बुलेन्स खोजेर नेपालगन्ज लाग्दा सो घटना भयो । अस्पतालका निमित्त उपकुलपतिले भने बच्चा असामान्य भएको अवस्थामा एनआइसियुमा उपचार चाहिने र बच्चाको डाक्टर पनि चाहिने भएको तर प्रतिष्ठानमा एनआइसियु र बच्चाको विशेषज्ञ दुवै नभएको उपकुलपति बसन्त लामिछानेले सञ्चार माध्यमलाई भनिरहनु भएको छ ।

‘करोडौं रुपैयाको एमआर आइ र सिटिस्क्यान सेवाका लागि मेसिन किन्न सक्ने प्रतिष्ठानले एउटा बाल रोग विशेषज्ञको व्यावस्थापन हुन सकेन भन्नु चरिकण्ठे कुरा हो’–प्रतिष्ठानमा भेटिनु भएका सेवाग्राही भन्नुहुन्छ, सायद चिकित्सक भर्ना गर्दा मेसिन किन्दा जस्तो कमिशन आउँदैन होला । स्वास्थ्य मन्त्रालयको रेकर्डमा प्रतिष्ठानमा धेरै विशेषज्ञ रहेका देखिन्छन् । तर अधिकांश विशेषज्ञहरु दरबन्दी प्रतिष्ठानमा रहेर पनि काजमा अन्य सरकारी अस्पतालमा रहेका छन् ।

केही महिना अघि पत्रकार जम्मा पारेर आइसियु र एनआइसियु सञ्चालनमा आएको बताउने प्रतिष्ठानमा अहिले एनआइसियु कहाँ हरायो ? आम नागरिकहरुले यही सोधिरहेका छन् । अस्पतालमा प्रसूती गराएको भए सायद बच्चा बाच्न सक्ने अभिभावकको अपेक्षा थियो, तर यो अपेक्षा एम्बुलेन्समै तुसारापात भैरहँदा प्रतिष्ठानलाई यो विषय गहन लागेन, उत्ताउलो जवाफ दिएर निमित्त उपकुलपति पन्छिरहनु भएको देखिन्छ ।

मेडिकल कलेज समेत सञ्चालनको उद्देश्य बोकेर घोराहीमा स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म पनि बच्चाको विशेषज्ञ छैन भन्नु कति लाजमर्दो जवाफ थियो ? यो एउटा बृहत्त वहसको विषय बनेको छ । अस्पतालमा नेपाल सरकारले लागु गरेको आमा सुरक्षा कार्यक्रम सञ्चालन भैसकेको र लाखौं रुपैया अनुदान पनि उपलव्ध भएको अवस्थामा यहाँ जन्मिएको बच्चाले समेत उपचार पाउन सक्दैन भने प्रतिष्ठानबाट जनताले के अपेक्ष ागर्ने ? आम जिल्लाबासीहरुले यही प्रश्न सोधिरहेका छन् ।

बाल रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ तथा जनरल फिजिसियन नै प्रतिष्ठानमा उपलव्ध हुँदैनन् भने जनताले प्रतिष्ठानबाट के अपेक्ष ागर्न सक्छन् । स्थापना भएको चार वर्षसम्म पनि प्रतिष्ठानले आफ्नो प्रतिष्ठा बढाउनुको साटो गुमाउँदै आएको छ । प्रतिष्ठानमा राज्यले पर्याप्त सहयोग नगरे पनि बच्चाको आइसियुका लागि त सामान पठाएर सञ्चालनमा ल्याएको पनि प्रचार गरियो । तात्कालीन प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई पनि अवलोकन गराइयो, तर बच्चाहरुले नियमित रुपमा एनआइसियु सेवा किन पाइरहेका छैनन् ?

प्रतिष्ठानको अपनत्व दाङबासीले लिन सकेका छैनन् । किनकि स्थापना भएको चार वर्ष पुरा भइसक्दा पनि प्रतिष्ठानका लागि आवश्यक जग्गा खोजि हुन सकेको छैन । कहिले झिंग्नी, कहिले नारायणपुर त कहिले नवलपुरमा जग्गा खोज्दै भौतारिएको प्रतिष्ठानले अझै पनि जग्गा प्राप्तिको काम पुरा गर्न सकेको छैन ।

प्रतिष्ठान स्थापना हुँदा यहँं दिपावली छाएको थियो । स्टाफ नर्सको पढाइ, डाक्टर बन्ने पढाइ, प्यारामेडिक्सको पढाइ, विशेषज्ञ प्रोफेसरहरुबाट स्वास्थ्य सेवा लगायतका सबै सपना साकार हुन सकेका छैनन् । यस अवधिमा प्रतिष्ठानले नत शैक्षिक कार्यक्रम सञ्चालनको तयारीनै गरेको छ । न त शिक्षण अस्पताल निर्माणमै भूमिका निर्वाह गर्न सक्यो । ‘करोडौं रुपैयाको एमआर आइ र सिटिस्क्यान सेवाका लागि मेसिन किन्न सक्ने प्रतिष्ठानले एउटा बाल रोग विशेषज्ञको व्यावस्थापन हुन सकेन भन्नु चरिकण्ठे कुरा हो’–प्रतिष्ठानमा भेटिनु भएका सेवाग्राही भन्नुहुन्छ, सायद चिकित्सक भर्ना गर्दा मेसिन किन्दा जस्तो कमिशन आउँदैन होला । स्वास्थ्य मन्त्रालयको रेकर्डमा प्रतिष्ठानमा धेरै विशेषज्ञ रहेका देखिन्छन् । तर अधिकांश विशेषज्ञहरु दरबन्दी प्रतिष्ठानमा रहेर पनि काजमा अन्य सरकारी अस्पतालमा रहेका छन् । यसमा प्रतिष्ठानले कुनै भूमिका निर्वाह गर्न सकेको छैन । न त आफ्नै श्रोतबाट विशेषज्ञ चिकित्सक आवश्यक मात्रामा करारमानै राख्न सकेको छ ।

दुई वर्ष अघिनै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन गरी विएससी नर्सिङ र प्यारामेडिक्सको पढाइका लागि पाठ्यक्रम निर्माण भैसकेको बताएको थियो । तर अहिले आएर भौतिक पूर्वाधार निर्माण नभएका कारण पढाइ हुन नसकेको बताइरहेको छ । प्रतिष्ठानको अपनत्व दाङबासीले लिन सकेका छैनन् । किनकि स्थापना भएको चार वर्ष पुरा भइसक्दा पनि प्रतिष्ठानका लागि आवश्यक जग्गा खोजि हुन सकेको छैन । कहिले झिंग्नी, कहिले नारायणपुर त कहिले नवलपुरमा जग्गा खोज्दै भौतारिएको प्रतिष्ठानले अझै पनि जग्गा प्राप्तिको काम पुरा गर्न सकेको छैन । पछिल्ला यी सबै अवस्थाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठा बढाउन होइन, प्रतिष्ठा गुमाउन उद्धत देखिएको नागरिकहरुको भोगाइले बताइरहेको छ । यही कारण प्रतिष्ठानमा पाँच वर्षको अवधिमा उपकुलपति बाहेक सबै पदाधिकारीहरु लगभग महिनै पिच्छे फेरबदल भइरहे । कारण प्रशासनिक व्यवस्थापनकै कमजोरी रहेको नागरिक अगुवाहरुले बताएका छन् ।

साक्षी खबरवाट

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस