
चन्द्रौटा। शिवराज नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श मावि शिवपुरले जितेको छ । विभिन्न विधामा भएको खेलमा सर्वाधिक अङ्क प्राप्त गर्दै नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो ।
यस्तै प्रतियोगीताको दोस्रो स्थान प्रकाश मावि सुन्दरीडाँडाले हात पारेको छ । तेस्रो स्थानमा राष्ट्रिय माध्यमिक विद्यालय र समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर सान्त्वना बन्न सफल भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता भएका छन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता सम्पन्न भएको खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताए ।
त्यस्तै फुटबल प्रतियोगिता अन्तर्गत मेयर कप र उपमेयर कपको उपाधि वडा १ ले हात पारेका छ । मेयर कप पुरुष तर्फ वडा ९ लाई १ गोलका विरुद्ध दुई गोल गर्दै विजेता बनेको छ । वडा ९ उपविजेता बनेको छ ।
उपमेयर कप महिला फुटबल प्रतियोगितामा पनि वडा न १ नै विजयी भएको छ । फाइनल खेलमा शिवराज नगरपालिका वडा १ ले ५ नम्बर वडालाई १ का विरुद्ध २ गोल गर्दै उपाधि हात पारेका हो । शिवराज नगरपालिका वडा ५ भने उपविजेता बन्न सफल भएको छ ।
खेलको समापन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिवराजले खेल महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताए । पछिल्लो समयमा युवा पुस्ताहरू खेलतर्फ आकर्षित हुन छोडेकोले यस्ता कार्यक्रमले खेल संरक्षण र खेलाडीहरूमा थप ऊर्जा उत्पन्न हुने बताए ।
१२ दिनसम्म चलेको खेल महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख लोकराज पन्थीले बताए ।