काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष आव २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९।२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो ।
गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २.७७ प्रतिशत विन्दुले कम हो । प्राधिकरणले चालु आवमा विद्युत चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सर्फमर फेर्ने, थ्रि–फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।