
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको पनि विभागले जनाएको छ ।
साताको मध्यसम्ममा देशका अधिकांशमा स्थानमा मौसम सामान्य तथा पूर्ण बदली हुने र त्यसले अधिकांश स्थानमा वर्षाको संभावना बढाउने पनि विभागको भनाइ छ ।
साताको मध्य तथा अन्त्यसम्ममा पूर्णतः बदली भएर धेरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
यस्तै, तराई क्षेत्रमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णा बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।