दाङ । दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेकाअनुसार तीन जनाको मिलेमत्तोमा कैदीलाई भगाएको खुल्न आएको उनले बताए । एक जना प्रहरी जवान र दुई जना बाहिरका मान्छेको मिलेमतो रहेको देखिएपछि सोहीअनुसार अनुसन्धान अघि बढाएको उनको भनाई छ ।
भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई विहीबार नै पक्राउ गरि अनुसन्धान थालिएको छ । अन्य दुई मध्ये एक जनालाई शुक्रबार विहान पक्राउ गरिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी प्रमुख समेत रहेका काफ्लेले बताए ।
‘तीन जनाको मिलेमत्तोमा भगाईएको हाम्रो अनुसन्धानले देखाएको छ, ती मध्ये प्रहरी जवानलाई हिजै पक्राउ गरि सक्यौं, अर्का एक जनालाई विहान पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं’, उनले भने ‘थप अर्का एक जनाको पनि खोजी कार्य भइरहेको छ ।’ अहिले अनुसन्धानमै रहेकाले उनीहरुको नाम भने केही समयपछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।
फोन ट्रयाकिङ्का आधारमा अनुसन्धान गर्दा उनीहरुको संलग्नता भएको देखिएको प्रहरीले बताएको छ । कैदीका नाइके समेत रहेका दाङ राजपुर गाउँपालिका वडा नं. ३ बेलाका निवासी २९ वर्षीय यामराम परियार बिहीबार विहान ११ बजेतिर प्रहरीकै मोटरसाईकल लिएर भागेका थिए ।
कतब्र्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भई घोराही कारागारमा जेल जीवन बिताई रहेका उनी छालाको बिरामी थिए । त्यसकै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा ती ब्यक्तिको हतकडी खोलिएको थियो । त्यही मौकामा उनी प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईल चढेर फरार भएका हुन् । उनलाई प्रहरी जवान चौधरीले नै सोही मोटरसाइकलमा राखेर अस्पताल लिएका थिए । घटना विहान भए पनि प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाईएको आशंका गरिएको छ ।
ती कैदीले सातबर्ष जेल जीवन बिताईकेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । सडकमा सीसीटीभी नहुँदा पनि समस्या भएको प्रहरी प्रमुख काफ्लेले बताए । ‘सीसीटीभी नहुँदा कता गए भन्ने थाहा हुन सकेको छैन, राजमार्ग क्षेत्र क्रस गरेको भने देखिएको छैन’, उनले भने ‘स्थानीय स्तरमै होला, ढिलोचाँडो हामीले पत्ता लगाउछौं ।’