तुलसीपुर । लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिता बिहीबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सांसद माननीय शंकर गिरीले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद गिरीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताएका छन्। मानव स्वास्थ्यसँगै राष्ट्रको शान र गौरव उच्च राख्ने खेलकुद नै हो यसर्थ यो जीवनको अभिन्न अंग हो उनले भने। यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्नु पर्ने उनको भनाइ छ।
मैले सिङ्गो खेलकुदलाई आफू नखेलेर पनि गर्व लाग्ने थलोको रुपमा बुझेको छु यसमा उच्च अनुशासन र सम्मान छ जसले जीवनको हरेक पद्धतिलाई सुन्दर बनाईदिन्छ उनले भने। साथै उनले आफू खेलकुद क्षेत्रसँग जोडिएरै खेल बिकासको उचित वातावरण निर्माणमा आफू लागि पर्ने समेत बताए।
कार्यक्रम नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद शंकर गिरीको प्रमुख आतिथ्यमा भएको थियो। नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित बहादुर केसीको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिव बिनिल केसीले गरेका थिए।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको महिला तथा पुरुष गेरुगी तर्फ ८/८ तौल समुह र पुम्से तर्फ कडा प्रतिस्पर्धा हुनेछ। प्रदेश छनौट भएका खेलाडीहरुले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना यही पुस १५ देखि १७ गतेसम्म काठमाडौमा हुने मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन।
प्रतियोगितामा लुबिनी प्रदेशका दाङ, बाके, बर्दिया, रुपन्देही, अर्घाखाँची, रोल्पा र प्युठानका गरि एक सय पचासी खेलाडीको सहभागिता रहेको दाङ जिल्ला तेक्वान्दो संघका सचीव बम बहादुर बिकले जानकारी दिए।