बृहत्त पोषण प्याकेज क्षमता अभिवृद्धि तालिम

मसुरिया (देउखुरी) । राप्ती गाउँपालिका क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत्त पोषण प्याकेज क्षमता अभिवृद्धि सम्बन्धी दोस्रो चरणको तालिम दिन शुरु गरिएको छ ।

बुधबारबाट शुरु भएको तालिम आगामी ७ दिन सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले विशेषगरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उपाध्यक्ष चौधरीले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले एकहप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिए ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बृहत पोषण प्याकेजमा महिलाका हक अधिकार, बच्चाका हक अधिकार, परम्परा तथा समाजिक ब्यवहारले समेत प्रभाव पार्ने बताएका छन् । रिजालले स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले खान पान, लवाई खवाईका बारेमा समेत प्रभावकारी सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक नारायण राउतले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको बताए ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस