मौतका कुवामा डुबेको पैसा कहाँ तैरिन्छ ? (भिडियोसहित)

बिजौरी । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले तुलसीपुर च्याम्बर अफ कमर्शले आयोजना गरेको महोत्सवको उद्घाटनमा शुभकामना मन्तव्य दिंदै भनेका थिए, मेला महोत्सवले स्थानीयको आर्थिक स्तरमा समृद्धि ल्याउनु पर्छ, मेलाबाट पैसा बाहिर जाने होइन, बाहिरको पैसा यहाँका व्यवसायीले ल्याउने प्रयत्न गर्नु होला ।

तुलसीपुर च्याम्बरको महोत्सव चलिरहँदा मेलामा सबैभन्दा बढी मौतका कुवा चलेको छ । कुवामा हालेको पैसा कहाँ गैरहेको छ ? आयोजकले नढाँटि भन्ने हो भने यसको उत्तर भारत । महोत्सवमा वाल उद्यान्न बढी चलेको देखिन्छ । तर दर्जनभन्दा बढी वाल उद्यान्नका खेलहरु सबै भारतीय नागरिकहरुको समन्वयमा सञ्चालन भैरहेको छ ।

महोत्सव स्थलको अर्को स्टलमै भारतीय मुलका व्यापारी घाँटी सुक्ने गरी कराइरहेका थिए, पानसौका छे थाली, पानसौका छे थाली……। कुन कम्पनीले बनाएका हुन ती प्लाष्टिकका जस्ता देखिने थाली, कहाँ उत्पादन भएका हुन् ? के मेटरीयलले बनेका हुन्, सरोकार छैन आयोजकलाई छे थालीको पानसय पैसा कहाँ गैरहेको छ । पानसौका जोडि तन्ना’ अर्को स्टलमा भारतीय व्यापारी कराइरहेका थिए । जोडि तन्नाको लम्बाइ चौडाइ कति हुन्छ, कुन गुणस्तरको कपडा उपभोक्तालाई कुनै जानकारी छैन, तर व्यापार भैरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा भर्खरै सञ्चालनमा आएको गुदपाक उद्योगका गुदपाक र पुष्टकारीको यहाँ प्रवद्र्धन हुन सकेको छैन । तर मेलामा काठमाडौंका पुष्टकारी र गुदपाकका प्याकेटहरु राखिएका छन् । भारतीय बजारमा विक्रि हुन नसकेका चनाचटपटे, भुजिया, दालमोड राखिएका छन् । अनि चितवनको एउटा उद्योगले बनाएका थरीथरीका अचारहरु । प्लाष्टिकका भाडाकुडा, सिसा गिलास, फेन्सी आइटमका स्टल लगायत महोत्सवमा जति स्टल भरिएका थिए, ती स्टलहरु अधिकांश दाङका व्यापारीका थिएनन् । कराइ कराइ बेचबिखन भैरहेको व्यापार दाङको थिएन, महोत्सवमा न्याना कपडा दाङका व्यवसायीहरुले स्टलमा राखेका थिएनन्, अर्थात दाङको पहिचान पाउनै मुस्कील थियो तुलसीपुर महोत्सवमा ।

आयोजकले मेलामा फुड फेस्टिभलको प्रचार गरेको थियो, खुबै । २० स्टलमा फुड फेस्टिभल । तर त्यहाँ थियो, नेवारी खानाका परिकार मात्रै । अरु जातीय पहिचान झल्किने खानाका परिकार केही थिएनन् । कृषिका स्टल त मेला भज्याउने माध्यम मात्र । कृषिका स्टलमा केरा राखिएको थियो । जुन केरा पनि भारतीय बारीकै थियो । अर्थात् महोत्सवमा राख्ने भनिएका कृषिका २५ स्टलहरु कहाँ छन् ? खासमा मेलाले यहाँका व्यवसायीलाई समृद्धिमा होइन, उधोगतिमा लगिरहेको छ । तुलसीपुरका व्यवसायी सेवकराम भण्डारी भन्छन्, ‘मेला खासमा यहाँका व्यवसायीको समृद्धिसँग प्रत्यक्ष रुपमा जोडिएकै हुँदैन, मेलाले अन्तको पैसा भित्र्याउने होइन, यहाँको पैसा विदेशीने मात्रै भैरहेको छ ।’

तुलसीपुरमा व्यापार महोत्सव लागिरहँदा स्थानीय व्यापारी भने बेचैन भएका छन् । विशेषगरी फेन्सी व्यवसायीहरु मेलका कारण थलिएका छन् । ‘दुई वर्ष जति कोरोना भाइरसको संक्रमणका कारण थलिएका थियौं, जसोतसो व्यापार व्यवसाय सहज रुपमा सुरु भैरहेकाबेला फेरी महोत्सवका नाममा अन्तका व्यसायीहरु आएर हाम्रो व्यापार चौपट पारेका छन’–फेन्सी व्यवसायी रुपेशले भने । भर्खरै जाडोका न्याना कपडा विक्रि हुन थालेको बेला यहाँ सञ्चालनमा आएको व्यापार मेलाले स्थानीय व्यवसायीहरुलाई आहत बनाएको उहाँको अभिव्यक्ति थियो ।

आधा स्टल खाली, भरिएका जति बाहिरका

यसैबीच तुलसीपुर चेम्बर अफ कमर्शले लगाएको महोत्सवमा आधा स्टल खाली छन् । स्टलहरुमा स्थानीय व्यवसायीहरु भन्दा पनि धेरै व्यवसायीहरु बाहिरका छन् । जिल्ला भन्दा बाहिरका व्यवसायीहरुले स्टल भरिएका छन् ।

चेम्बरमा आबद्ध एक सदस्यकाअनुसार यस क्षेत्रका व्यवसायीहरु नआएपछि बाहिरका व्यवसायीहरुलाई राखिएको हो । तुलसीपुरका व्यवसायीहरुले विरोध स्वरुप महोत्सवमा स्टल लिन नआएपछि बाहिरका व्यवसायीहरुलाई दिनुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।

‘यहाँका व्यवसायी आउनु भएन्’, उनले भने ‘त्यसैले हामीले बाहिरका व्यवसायीहरुलाई दिनुप¥यो ।’ यति मात्रै होइन्, अधिकांश स्टलहरु खाली नै । तीन सय स्टल मध्ये करिब करिब आधा स्टल खाली रहेका छन् । पाँच करोड रुपैँया बराबरको कारोबार गर्ने लक्ष्य राखिएको भए पनि एक करोड पनि पुग्न धा–धौ हुने डर रहेको आयोजक मध्येका एकले बताए ।

‘हामीले पाँच लाखको लक्ष्य राखेका थियौं,’ उनले भन्नुभयो ‘तर, त्यो लक्ष्य अनुसार दर्शन पनि नआउने देखिएको छ ।’ एक करोड पनि पु¥याउन धौ–धौ हुने अवस्था आएको छ । स्टल लिएकाहरु पनि पछुताएका छन् । चाउमिन, चिया पसल गरिरहेका एक पसलेले आफूहरुलाई भाडा नै उठाउन समस्या भइरहेको बताए । ‘भाडा ४० हजार छ, यहाँबाट कमाई गर्ने भन्ने यस्तो भयो, कसरी भाडा उठाएर तिर्ने भन्ने नै चिन्ता छ’, उनले भने ।

महोत्सवमा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिने भन्ने थियो । तर, अहिलेसम्म आएका कलाकारहरुको लिस्टमा स्थानीय कलाकारहरु विरलै छन् । प्रायः बाहिरकै कलाकारहरुलाई स्थान दिने गरिएको छ । दाङका एक कलाकारले गुनासो गरे ‘स्थानीय कलाकारहरुलाई ल्याउने भनेर प्रचार गर्दा हामी निकै खुसी थियौं, तर अन्नतः हामीलाई पनि बोलाइएन ।’

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य हो । तर, महोत्सवका स्टलमा स्थानीय उत्पादन छैनन् । विदेशमा बनेका कपडा, विदेशमा बनेका जंक फुडले स्टलहरु भरिएका छन् । बरु ठूला–ठूला गाडीका स्टलहरु छन् । तर, स्थानीय टमाटर, काउलीका स्टलहरु देखिंदैनन् । जसको प्रोत्साहन गर्ने भनि महोत्सव सञ्चालन गरिएको हो, त्यहीँ नै नभएपछि महोत्सवको उद्देश्य कृषिलाई प्रोत्साहन गर्ने हो वा पैसो संकलनका लागि हो भन्ने कुरामा शंका उत्पन्न हुने गरेको छ ।

यस क्षेत्रका व्यवसायीहरुले महोत्सवलाई स्वीकार गरिरहेका छैनन् । उनीहरुले मौन विरोध गरिरहेका छन् । महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरु आए पनि सोहीअनुसारका दर्शकहरु भने हुँदैनन् । शनिबार तथा विदाको दिन भने केही बढी दर्शकहरु हुने गरेको भए पनि अन्य समयमा भने राष्ट्रिय कलाकारलाई उपस्थित बनाए अनुसारको भीड देखिदैन ।

चेम्बरले ‘सिन्डिकेट’ तोड्ने भन्दै पहिलो पटक तुलसीपुरमा महोत्सव लगाएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त महोत्सवको उद्घाटन गरेका हुन् । जतिबेला उनले दाङका व्यवसायीहरु एकजुट हुनुपर्ने भनिरहेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले महोत्सव अस्वीकार गरेपछि उद्घाटन गर्न राष्ट्रियसभा अध्यक्षलाई बोलाईएको थियो । मुख्यमन्त्री केसीले विश्वका विभिन्न स्थानमा कोरोनाको महामारी बढिरहेकाले महोत्सव आवश्यक नभएको भनि आयोजकहरुलाई प्रतिक्रिया दिएका थिए ।

साक्षी खबरबाट

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस