मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि

चितवन । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ ।

सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

सुरुमा विषाक्त मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने अनुमान गरिए पनि पोष्टमार्टमबाट गैंडा करेन्ट लागेर मारिएको पुष्टि भएको हो ।

घटनास्थलमा विद्युतीय तार भने भेटिएको थिएन । गैंडाको मृत शरीरले किचेको अवस्थामा बाँसको लठ्ठी मात्रै भेटिएको थियो । सूचना अधिकारी खनालका अनुसार तार उनीहरुले गैंडा मरेपछि उठाएर लगेको देखिन्छ ।

घटनामा संलग्न भएको हुनसक्ने अनुमानको आधारमा दुई जनालाई सोधपुछ गरेर छाडिएको छ।

निकुञ्जमा गत पुस १ गते निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६–२७ बर्षको भाले गैंडा र त्यसको भोलिपल्ट निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४–२५ बर्षको पोथी गैंडा मृत फेला परेका थिए ।

यी दुवै गैंडा मरेको सूचना अहिलेसम्म निकुञ्जले सार्वजनिक गरेको छैन । एक सिङ्गे गैंडाको सबैभन्दा ठूलो बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा गतवर्ष गरिएको गणनामा गैंडाको संख्या ६९४ रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस