आज किँरात समुदायले उधौली पर्व मनाउँदै

काठमाडौं । आज किँरात समुदायले उधौली पर्व मनाउँदै छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन् ।

आजको दिन किँरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । उधौली पर्वमा बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ।

जाडोयाम सुरु भएपछि उधौली याम सुरु भएको मानिन्छ। यस याममा जाडो छल्न चराचुरुङ्गी‚ माछा माथिल्लो भेगबाट तल्लो भेगमा झर्ने गर्छन्। पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको भनी मानिन्छ।

उधौली पर्वको अवसरमा याःलाङ ९धाननाच०‚ केलाङ ९च्याब्रङ नाच०‚ साकेला नाचलगायत परम्परागत नाच नाचेर रमाइलो गरिन्छ।

यस समुदायमा बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा ईश्वरलाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस