
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जमा दोस्रो जिल्ला स्तरीय डोरी तान प्रतियोगिता आयोजना हुने भएको छ । विजेता पालिकामा कार्यक्रम गर्ने नियमअनुसार गत वर्ष विजेता भएको कृष्णनगर नगरपालिकामा यस वर्ष प्रतियोगिता सञ्चालन गरिने जिल्ला डोरी तान सङ्घका अध्यक्ष मीनराज बेल्वासेले बताए ।
पुस ९ गते बहादुरगञ्जमा आयोजना हुने उक्त प्रतियोगितामा १० समूह पुरुष, १० समूह महिला र दुई समूह भारतीय खेलाडीहरू सहभागी हुने बेल्वासेले जानकारी दिए । खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै पालिकाहरू खेलमा सहभागी हुने बेल्वासेले आग्रह गरे ।
मित्रराष्ट्र भारतका खेलाडीहरू पनि सहभागी हुने भएकोले खेलाडीहरू बिच आपसी समझदारी तथा दुवै देशका खेलाडीको सम्बन्ध थप प्रगाढ बन्ने उनले बताए । कृष्णनगर नगरपालिकाका सहयोग हुने उक्त खेलमा प्रथम पुरस्कार १५ हजार मेडल, द्वितीय पुरस्कार १२ हजार मेडल र तृतीय पुरस्कार १० हजार मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
पुरुष तर्फ ६ सय केजी, महिला तर्फ ५ सय केजीमा हुने प्रतियोगितामा २ सय ४० बढी खेलाडीहरू सहभागी हुनेछन्।