दंगीशरणमा बृहत्त पोषण प्याकेज सम्बन्धी प्रशिक्षण

दंगीशरण । स्वास्थ्यकर्मीहरुका लागि ७ दिने बृहत्त पोषण प्याकेज तालिम विहीबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेकोे ७ दिने तालिममा पोषण र यसको महत्व र आवश्यकता, खाद्य विविधीकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, पूरक वा थप खाना, बहुसूक्ष्म पोषक तत्व, वृद्धि अनुगमन र यसको महत्व, बिरामी बालबालिकाको खाना र हेरचाह विषयमा तालिम भएको थियो ।

त्यस्तैगरी शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका स्तरको तालिम कसरी सञ्चालन गर्ने, पोषण कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय शासनको अवधारणा र प्रक्रिया, आपूर्ति व्यवस्थापन सूचना प्रणाली लगाएतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको प्रशिक्षकमा स्वास्थ्य शाखा प्रमुख दशरथ गिरी, स्वास्थ्य केन्द्र बागरका डा.कृष्ण घर्ती, सुआहाराका रोशन पौडेल रहेका थिए । उपाध्यक्ष पिमा कुमारी खड्को अध्यक्षतामा तालिम सम्पन्न भएको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले तालिमबाट पुनः स्थानीय तहमा प्रशिक्षण सञ्चालन हुने भएकाले यसको महत्व बढ्ने बताइन् । उनले कोभिडका बेला स्वास्थ्यकर्मीले गरेको कामको जति प्रशंसा गरे पनि कम हुने बताउँदै आगामी दिनमा मातृशिशुका विषयमा हुने यस्ता प्रशिक्षणले अझ कार्यक्षमतामा निखार ल्याउने बताइन् ।

दंगीशरण गाउँपालिका स्वास्थ्यशाखाले आयोजना गरेको तालीममा स्वास्थ्य शाखा संयोजक, सहसहयोजक, स्वास्थ्य चौकी प्रमुख, कार्यरत स्वास्थ्यकर्मीहरुहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट प्रदिप योगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस