शिवराजमा खेल महोत्सव सुरु, १५ सय खेलाडी सहभागी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी स्थिर र दिगो विकासको गति, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ’भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको छ ।

खेलको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिक्षा स्वास्थ्यसँग जोडिएको खेल क्षेत्रले ठाउँ चिनाउने हुँदा शिवराजलाई चिनाउन खेल महोत्सवले सहयोग पुग्ने बताए । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिनु पर्ने बताए । नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताए ।

खेल महोत्सवलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले नगर मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने बताए । शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाए ।

विगतका वर्षहरू जस्तै यसवर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै थप व्यवस्थित गरिएको अधिकारीले बताए । आगामी माघमा पालिका स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको उनले बताए ।

खेल महोत्सवमा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खेलकुद प्रतियोगिताले युवायुवतीहरूलाई दुर्व्यसनीबाट हटाउन सहयोग पुग्ने बताए । खेल महोत्सवको उद्घाटनमा विभिन्न राजनितिक दलमा प्रतिनिधि, संघ सस्थाका प्रतिनिधिहरुले खेलको सफलताको कामना गरेका थिए । खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल प्रतियोगिता हुने छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता हुनेछन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताए ।

शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत पूर्ण विकले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस