जति रक्सि पिए पनि, भुइमा खुट्टा नटेके पनि….

बिजौरी । अहँ हाम्रा अभिभावक आफ्ना सन्तानका यस्ता दुर्व्यसनीपूर्ण गतिविधिका बारेमा भन्नै चाहदैनन् । यही समस्याले समाजमा लागुऔषध दुर्व्यसनीको समस्या व्याप्त रहेको छ । यहाँसम्म कि प्रहरीले रंगेहात समाएका दुर्व्यसनीलाई सुधार्न भन्दा छुटाउनै अभिभावकहरु मरीहत्ते गर्ने गरेको पनि पाइएको छ ।

बिजौरी उद्योग वाणिज्य संघ र प्रहरी चौकि हेमन्तपुरको संयुक्त आयोजनामा बुधबार बिजौरी उद्योग वाणिज्य संघमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले परिवारका वावुआमा तथा घरमुलीलेनै दुर्व्यसनीका सूचना लुकाउने प्रबृत्तिका कारण यसको न्युनीकरणमा ठूलो चुनौति देखिएको बताएका छन् ।

‘हामीले बनाएका विना वर्दिका प्रहरीहरु नै गाजा तान्न लागिसकेका छन् आयुर्वेद क्याम्पसमा पढ्ने विद्यार्थीमा पनि यस्तै गाजा खोज्ने प्रबृत्ति देखेको छु, जब अभिभावकहरुले जानिजानि यस्ता घटनाहरु लुकाउन खोज्छन् भने समस्या गम्भीर बन्दै जाने रहेछ’, कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१९ का वडाध्यक्ष राम वहादुर योगीले भने ।

आफ्नो वडा अहिले गाजा तान्नेको हव भएको बताउँदै यसलाई न्युनीकरण गर्न आमाहरुनै सचेत हुनुपर्ने पनि उनको सुझाव थियो । सोहि कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—१७ का वडाध्यक्ष थलराज पुरीले पनि अभिभावकहरु जानकार भएर पनि आफ्नो परीवारमा भएका दुर्व्यसनीका घटना लुकाउनु दुर्भाग्यपुर्ण भएको बताए ।

विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का विशिष्ठ अतिथि तथा १६ नं वडाध्यक्ष भुप वहादुर केसीले एउटै गाउँमा दशवटा सम्म रक्सि र गाजा तान्ने कटेजहरु खुलेको बताउंदै हरेक बस्ती गाजा र मदिराका गन्धले भरीपुर्ण भएको बताए । ‘जानकार बुवाआमाहरुले भन्दैनन्, कछाड् क्षेत्रमा प्रहरी पुग्दैन, यसैले समस्या घट्नुको साटो बढिरहेको छ’—वडाध्यक्ष केसीले भने । परिवारको एउटा सदस्य मदिरा होस वा गाजा कुनै पनि लतमा फसकेको छ भने त्यो सवै जानकारी बुवाआमालाई हुने भन्दै यसलाइ सामुहिक रुपमै लागेर नियन्त्रण गर्नकालागी सुचना लुकाउन नहुने पनि उनको अभिव्यक्ति थियो ।

कार्यक्रममा प्रहरीले संसाझै पसल बन्द गर्न गाउने, घोराही तुलसीपुरमा अपराध गरेर विजौरीमा लुक्न आउने, फोहर व्यवस्थापनमा निकै समस्या लगायत घरेलु हिंसा र यौनजन्य अपराधहरु पनि समाजमा व्याप्त रहेको बताउदै यसको न्युनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, उद्योगी व्यावसायी, नागरिक समाज लगायतको साझा संकल्प बन्नुपर्ने पनि सहभागीहरुको सुझाव थियो ।

‘बाटै भरी फोहर थुप्रिएको हुन्छ, तर उपमहानगरपालिकाको गाडि तीन सातासम्म पनि आउँदैन फोहर उठाउन’—एमाले तुलसीपुर—१८का अध्यक्ष तथा बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुकेश वलीले भने । फोहर उठाउने गाडि व्यवस्थापन गर्न उनले वडाध्यक्षहरुलाई आग्रह पनि गरे ।

कार्यक्रममा प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा सवैभन्दा ठुलो र गम्भीर समस्या लागुऔषध दुव्र्यसनीकै रहेको बताउँदै बुवा आमाहरुले आफ्नो सन्ततीको निगरानी गर्न आग्रह गरे । ‘हामी लागुऔषध दुर्व्यसनीलाई समाउँछौं, आमाहरु त्यस्तो अभियुक्त होइन भनेर छुटाउन आउनुहुन्छ, समस्या यहिनेर व्यापक छ’—प्रमुख अतिथि अर्यालले भने । प्रमुख अतिथि अर्यालले आफुनो सन्तती दुर्व्यसनीमा लागेको हरेक अभिभावकलाई जानकारी हुने भन्दै त्यसलाइ निराकरण गर्नका लागि प्रहरीलाई सूचना दिन पनि आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर—१७ का सभापति डण्डीराम गिरी, १६ का सभापति लिलाधर वली, राजमोका जिल्ला सहसचिव श्रीराम पौडेल, एमाले १९ का अध्यक्ष विमल रेग्मी, तुलसीपुर उपमहानगरपालिका—१८ का सदस्य सितल बुढा लगायतले बोलेका थिए । विजौरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस