तुलसीपुर । तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाइ गरेको छ । ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाइ गरिएको तुलसीपुर महोत्सवका संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।
तुलसीपुरको बसपार्कबाट सुरु भएको सरसफाइ अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो । सरसफाइ अभियान टोलिले बसपार्कको आपसका क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन टेक्टर फोहर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोप बहादुर घर्तीले जानकारी दिए ।
सरसफाइका क्रममा सडेगलेका फलफुलका बोक्रा, प्लाष्टिक, चाउचाउ, गुट्का, बिस्कुट, लगायतका खोल अन्य फोहरजन्य वस्तुहरु संकलन गरिएको थियो । सरसफई अभियानमा तुलसीपुर उपमहागनरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रेफ गोरखाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकाहरी लगायतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिए ।
उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेम्म ऐतिहासिक प्रथम तुलसीपुर महोत्सव सुरु हुँदैछ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव तुलसीपुरको घोराही रोडको उत्तरतर्फ खाली चौरमा हुँदैछ ।