तेस्रो वडा अध्यक्ष कपमा कचिली बि र टरिगाउँको बिजयी सुरुवात

तुलसीपुर । तुलसीपुर उपमाहानगरपालिका वडा न १२ को हरिपौरामा आइतबारदेखि तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।

डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ को आर्थिक सहयोगमा पशुपति मा.वि. हरिपौरा खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर एवं कार्यबहाक मेयर माया आचार्यले गरेकी हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले स्वस्थ जीवनका लागि खेलकुद महत्वपूर्ण भएको बताइन् । खेलकुद राष्ट्रकै पहिचान हो, यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई सबैले आत्मसाथ गर्न सके खेल बिकासले फड्को मार्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले तुलसीपुर १२ का उपाध्यक्ष भिम बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका तुलसीपुर १२ का सचिव हरि बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर १२ का ईन्चार्ज उज्ज्वल घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अबसरमा रझेनी टोल बिकास संस्था तुलसीपुर १२ ले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।

डबरा टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका कार्यबहाक मेयर माया आचार्यको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डाँगी श्यामको बिशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसंगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद ५०, ३५ र २५ हजार तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडीलाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच आईतबार सम्पन्न उद्घाटन खेलमा कचिली बि बिजयी भएको छ । उसले क्वाङीलाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै टरिगाउले ट्राईबेकरमा आयोजक डबरा टोललाई १ का विरुद्ध २ गोल पराजित गर्यो ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान कपडादेबी र कचिला, टरिगै र क्वाङी भिड्नेछन् । खेल बिहान १० बजेपछि हुनेछ । प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर केसी र सुरेश मगर रहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस