तुलसीपुर । तुलसीपुरमा रहेको दिदी घर संस्थाको वोईज शाखाको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरीयामा शनिबार एक कार्यक्रमका बिच दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उक्त शाखा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी रेग्मीले सडकपेटी, अस्पतालमा बेवारिसे अवस्थामा रहेका बालबालिका, अशक्त, अपांग भएका बालवालिका, व्यक्ति, बृद्धबृद्धाहरुको संरक्षणको लागि दिदी घर जस्तो संस्थाहरुको पहिचान र सहयोग गर्नु पर्ने बताए ।
त्यसका साथै यस्ता असहायको संरक्षण गर्ने संस्थाहरुलाई आर्थिक, भौतिक, शैक्षिक, खाद्य लगायतका आवश्यक पर्ने जुस्तोसुकै खालका समस्याहरु समाधान गर्नको लागि सबैले आआफ्नो पक्षबाट सहयोग गर्नु पर्ने बताए ।
त्यस्तै दिदी घर संस्थाको वोइज शाखाले बखरीयाको गाउँको नाम परिचित गराएको उनले बताए । प्रजिअ रेग्मीले दिदी घर संस्थालाई आवश्यक पर्ने समन्वय, सहयोग गर्न सधै प्रतिबद्ध रहेको बताए । सो अवसरमा उनले दिदी घर संस्थालाई खाजा खर्च भनेर नगद पाँच हजार सहयोग गरेका थिए ।
दिदी घर संस्थाकी अध्यक्ष स्यानी चौधरीले कार्यक्रमको बारेमा जानकारी दिँदै अहिले दिदी घर संस्थामा अभिभावकविहीन बालबालिका आश्रित रहेको बताईन् । तर आफुले ती बालवालिकाहरुको अभिभावकत्व प्रदान गरिरहेको बताइन् । २०६१ सालमा स्थापना भएको संस्थाले विभिन्न समयमा किशोरी तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको सहयोग गर्दै आएको र अहिले संस्था २२ जना बालबालिका आश्रित रहेको जानकारी दिइन् ।
तुलसीपुरमा बालिकाहरु राख्ने र बखरीयामा बालकहरुलाई राख्नको लागि वोईज शाखा स्थापना गरेको जानकारी दिइन् । संस्थामा बस्दै आएका बालबालिकाहरु अरु समयमा मतलब नगरे पनि चाडपर्वको समयमा आफ्ना अभिभावकहरुलाई सम्झने गरेको चौधरीले बताईन् । तर आफुले ती बालबालिकाहरुको गुणस्तरीय शिक्षा र उज्वल भविष्यको लागि ग्रेट अरनिकोमा बढाउँदै आएको जानकारी दिइन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल, किवानिस क्लव तुलसीपुरका अध्यक्ष बिमल पोख्रेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष बिनोद पाण्डे, सीड संस्थाकी अध्यक्ष राममोती चौधरी, महिला उद्यमी सपना भण्डारी, भिक्टोरिया कलेज घोराहीमा अध्ययनरत विद्यार्थीहरु आशिष पुन, सुरज गुप्ता लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले गर्नु पर्ने काम संस्थाकी अध्यक्ष स्यानी चौधरीले गरेको भन्दै प्रशंसा गरेका थिए ।
दिदी घर संस्थाकी अध्यक्ष स्यानी चौधरीको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव माया चौधरीले गरेकी थिइन भने कार्यक्रमको सहजीकरण पत्रकार निरला अर्यालले गरेकी थिइन् ।