
काठमाडौं । गुगल कम्पनीले आगामी वर्ष सन् २०२२ मा पिक्सेल स्मार्टवाच बजारमा ल्याउने गरी निर्माण गरिरहेको छ ।
पिक्सेल ब्रान्डबाट वर्षौंदेखि आफ्नै स्मार्टफोन बनाइरहेको गुगलले पिक्सेल स्मार्टवाच पनि बजारमा ल्याउने भएको हो ।
गुगलले हालसम्म स्मार्ट घडी नबनाएको भए पनि सन् २०१४ देखि नै स्मार्ट घडीका लागि उसको एन्ड्रोइड प्लाटफर्म रहेको छ । त्यस्तै गुगलले यही वर्षमात्रै स्मार्टवाच निर्माता कम्पनी फिटबिट खरीद गरेको थियो । गुगलको सबैभन्दा पछिल्लो स्मार्टवाच प्लाटफर्म चाहिँ wear अपरेटिङ सिस्टम थ्री हो ।
सामसुङसँगको सहकार्यमा गुगलले यो स्मार्टवाच अपरेटिङ सिस्टम तयार गरेको हो । सामसुङको ग्यालेक्सी वाच फोरमा यो अपरेटिङ सिस्टम राखिएको छ ।
गुगलको पिक्सेल स्मार्टवाच फिटबिटको स्मार्टवाच भन्दा महँगो हुने र प्रत्यक्ष रुपमा एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
पिक्सेल स्मार्टवाचमा स्टेप काउन्ट, हार्ट रेट मोनिटर लगायतका फिटनेट ट्रयाकिङ फिचर हुनेछ ।
यसैबीच गुगलले फिटबिटलाई पनि आफ्नो wear अपरेटिङ सिस्टमभित्र ल्याउने गरी नयाँ फिटबिट स्मार्टवाच लञ्च गर्ने योजना पनि बनाएको छ । एजेन्सी