
काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्ने भएकी छिन् ।
क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान समेत रहेकी रानामगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने जानकारी शनिबार दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ ।
फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि–२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हंगकंगमा खेलिनेछ।
क्रिकेटको माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।
नेपाली क्रिकेटर सीताले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् ।
हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगितामा छनोट भएकोमा आफूलाई खुशी महसुस भएको भन्दै उनले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् ।
राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेटमा यो ऐतिहासिक दिन भएको भन्दै अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्ने बताए । नेपाली क्रिकेटमा लागेर पनि केही गर्न सकिन्छ भन्ने उर्जा मिलेको उनको भनाइ छ ।
सीता विदेशी लिगमा छनोट हुने पहिलो नेपाली महिला खेलाडी हुन् ।