रोल्पाको १० वटै स्थानीय तहमा मतदाता नामावली संकलन सुरु

रोल्पा । रोल्पाका ५ स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन सुरु भएको छ । जिल्लाका स्थानीय तहलाई दुई चरणमा विभाजन गरि मतदाता नामावली संकलन गर्न थालिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो ।

पहिलो चरणमा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म जिल्लाको थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी धृता कुमारी खत्रीले जानकारी दिइन् । यता स्थानीय तहले पनि शुक्रबारदेखि फोटो सहितको मतदाता नामावली संकलनको काम आवश्यक सामाग्री सहित भइरहेको जनाइएको छ ।

स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालयले छुट्टै कर्मचारी नियुक्ति गरि मतदाता नामावली संकलन गरिरहेका छन । १६ बर्ष पुरा भइ नेपाली नागरिकता लिएका सबै नेपालीलाई फोटो सहितको मतदाता नामावली फाराम भर्न निर्वाचन कार्यालय रोल्पाले अनुरोध गरेको छ । रोल्पा नगरपालिकामा भने निर्वाचन कार्यालय भएकोले फारम भर्न नपर्ने र अन्य ९ पालिकामा सञ्चालन भएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी खत्रीको भनाइ रहेको छ ।

त्यस्तैगरी दोस्रो चरणको नामावली संकलन पौष १ गतेदेखि पौष १० गतेसम्म त्रिवेणी गाउँपालिका, रुन्टिगढि गाउँपालिका, सुनिलस्मृती गाउँपालिका र लुंग्री गाउँपालिकामा हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस