दंगीशरणमा कोभिडले पारेको प्रभावलाई सुधार गर्नुपर्ने भन्दै ध्यानाकर्षण बुझाइयो

दंगीशरण । कोभिड १९ ले पारेको प्रभावका विषयमा शुक्रबार दंगीशरण गाउँपालिकामा बृहत्त रुपमा छलफल भएको छ । कोभिड १९ को समयमा गर्भवती, सुत्केरी, अपांग तथा दीर्घ रोगीहरुको आपतकालीन अवस्थामा नियमित स्वास्थ्य सेवा सञ्चालन र कार्यान्वयन प्रभावकारी भएको छ कि छैन भन्ने विषयमा छलफल भएको हो ।

स्थानीय तहमा आवश्यक सामग्रीमा ब्यवस्थापनका लागि सहजीकरण गर्ने, आधारभुत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न पहल गर्ने, आकस्मिक प्रसूती सेवाका लागि प्रत्येक वडाहरुमा स्थापना गर्नका लागि रचनात्मक समन्वय गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

साझेदारी संघीयता सहयोग वातावरण तथा ग्रामिण विकास केन्द्रको समन्वय एंव साझेदारी परियोजनाको आर्थिक सहयोग तथा ईन्रुडेकको प्राविधिक सहयोगमा संचालित पैरवि अभियान अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा सीडका सिता चौधरीले पैरवि अभियान अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिएन् ।

प्रस्तुत गरिएको प्रतिवेदनमा नागरिक समाज संस्थाहरुले लिइएको तथ्यांकअनुसार आर्थिक अभावले उपचारमा समस्या भएको, कोभिड तथा माहामारी नियन्त्रणमा स्थानीय सरकारले प्रयास गरेता पनि विपन्न वर्गसम्म सेवाको पहुँच नहुनु, कोभिड तथा माहामारीको समयमा औषधि उपचार, नियमित खोप, परिवार नियोजन सेवा, सुत्केरी महिला र नवजात शिशुहरुले प्राप्त गर्ने सुविधा सेवाबाट सिमान्तकृत समुदाय र विपन्न वर्ग बढी मारमा परेको लगायतका गुनासा तथा समस्याहरु भेटेको उल्लेख गरेको छ ।

यस्तै कोभिड भए पनि विरामी समयमै चेकजाँच गर्न डराउनु, स्वास्थ्यकर्मीहरु कोभिडका समयमा काम गर्न डराउनु, कोभिडसँग सम्बन्धित आवश्यक सामग्रीहरुको अभाव हुनु लगायतका समस्याहरु समेटिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा दंगीशरण गाउँपालिकाले भने कोरोना माहामारी नियन्त्रणका लागि ३० लाख कोरोना कोषका ब्यवस्था गरेको छ । यस्तै औषधि खरीदमा ११ लाख, आयूर्वेदिक औषधि खरिदका लागि ४ लाख र ल्याव उपकरण केमीकल तथा किड्स खरिदका लागि ५ लाख खर्च गरेको जनाएको छ ।

सो अवसरमा दंगीशरण गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा अन्र्तगत नागरिक उपचार सेवा, टिभी, क्यान्सर तथा खोप सेवा लगायत सबै किसिमका सेवा प्रभावकारी बनाउँन र गरिब अल्पसंख्यक, पिछडिएका वर्ग, जनजाति, दलितहरुको सम्स्यालाई मध्यनजर गर्दै कोभिड तथा माहामारीजन्य स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा कार्यान्वायन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा गाउँपालिकामा कोभिड तथा माहामारी स्वास्थ्य सेवा अन्र्तगत सबै सेवाको विस्तार, सामग्री खरीद तथा प्रभावकारी कार्यान्वयन गरि स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनुपर्ने, विशेष फोर्स निर्माण गरि परिचालन गर्ने, भौतिक संरचना निर्माण गरि दक्ष जनशक्ति परिचालन गर्न, आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरि पारदर्शी बनाउँनुपर्ने, गर्भवती, सुत्केरी, अपांगता, दीर्घ रोगीहरुलाई विषेश वजेटको ब्यवस्थापन गर्नुपर्ने लगायतका १३ वटा बुँदा सहितको ध्यानाकर्षण पत्र प्रमुख प्रशाकीय अधिकृत खिम बहादुर खड्कालाई बुझाएको हो ।

ध्यानाकर्षण पत्र दंगीशरण पैरवि मञ्चका गिता न्यौपानेले बुझाएकी थिइन् । सो अवसरमा इन्रुडेकका अध्यक्ष धर्म रोकाय लगायतको सहभागिता रहेको थियो । ध्यानाकर्षण पत्र बुझ्दै अधिकृत खड्काले कार्यपालिकाको बैठकमा पेस गर्ने र यसलाई अनुमोदन गरिने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, गाउँपालिका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख यादव डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस