सहकारीमा महिलाहरुको सहभागिता अनिवार्य : उपाध्यक्ष खड्का

दंगीशरण । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले सहकारीमा महिलाहरुको सहभागिता हुन जरुरी रहेको बताएकी छिन् । महिलाहरु घरायसी काममा मात्र सीमित नभई गाउँघरको सहकारीमा आवद्ध भई बोल्न र लेख्न सिक्नुपर्ने बताइन् ।

सहकारी मार्फत आर्थिक पाटोलाई बलियो बनाउँदै लग्ने र बचत मात्र नभई मुनाफातर्फ पनि लग्ने कुरालाई प्राथमिकतामा राख्दै काम गर्न आग्रह गरिन् । गोल्टाकुरी महिला साना किसान कृषि सहकारी सस्ंथाको ९ औँ वार्षिक साधारणसभामा प्रमुख अतिथि समेत रहेकी खड्काले यस्तो बताएकी हुन् ।

साथै प्रमुख अतिथि खड्काले बचत मात्र नभई लगानीतर्फ पनि लाग्नुपर्ने बताइन् । सहकारीमा हुने खाने भन्दा पनि हुँदा खानेहरु रहने भएकाले बचत सँगसँगै लगानीको पाटोलाई अगाडि बढाउन आग्रह गरिन् । साथै सहकारीलाई अझमाथि लैजानका लागि सधैँ आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा दंगीशरण गाउँपालिका वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरीले यस सहकारी सस्ंथाले महिला सशक्तीकरणको पाटोमा अग्रणि भूमिका खेलेको भन्दै अझ पनि दिगो रुपमा लग्नका लागि पारदर्शी तरिकाले काम गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य चौकि प्रतिनिधि सिद्धिराज के.सी., समाजसेवि तिलक डाँगी, इलाका कार्यालय नेपालगंजका पारसमणि मिश्र, सल्लाहकार डम्वर कुमारी खत्री, गांगा वली लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

साधारण सभामा प्रबन्धक सुशिला पाण्डेले आ.व. २०७७/७८ को ४९ लाख ९२ हजार ५ सय ९० रुपैया आम्दानी र ४३ लाख ८ सय ७७ रुपैया खर्च को आयब्यय प्रस्तुत गरेकी थिएन् । साधारण सभा कार्यक्रममा जेष्ठ सदस्य जमनी खत्री, उत्कृष्ट कृषक धनकुमारी खत्री, सस्ंथागत रुपमा योगदान पुर्याएको भन्दै निर्मला बुढाथोकी, लेखा समितिका सकृय सदस्य गिता पौडेललाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण सुमन चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस