
दंगीशरण । दंगीशरण गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम हुने भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकले दंगीशरणमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । स्थानीय सहयोग समन्वय तथा प्रचारप्रसार समितिका अध्यक्ष एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यहि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम गरिने निर्णय गरेको हो ।
गाउँपालिका स्थित कृषि शाखाको भवनबाट सेवा दिईने भएको छ । बैठकले यहि मंसिर १७, १८, १९ र २० गते गाउँपालिकाको वडा न. ३, ४ र ५ का नागरिकहरुले मतदाता नामावली बनाउँन सक्ने निर्णय गरेको छ । त्यसैगरी मंसिर २१, २२ र २३ गते वडा न. १ र २ का नागरिकले यस्तै मंसिर २४, २५ र २६ गते वडा न. ६ र ७ का नागरिकले मतदाता नामावली बनाउँन सक्नेछन् । यसैगरी मंसिर २७ गतेदेखि पुष २ गतेसम्म सम्पूर्ण वडाका छुटेका नागरिकहरुले मतदाता नामावली बनाउँन सक्नेछन् ।
मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा अन्य स्थानको मतदाता नामवलीमा नाम दर्ता गराउँदा बसाइसराइको प्रमाणपत्र, विहे दर्ताको प्रमाणपत्रसहितको कागज लिइ नामावलीमा नाम समावेश गर्न पाइने व्यवस्था रहेको प्रमुख निर्वाचन अधिकृत निमराज भट्राईले जानकारीे दिए ।
यसैगरी बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका समेत मतदाता नामवलीको विवरण संकलन गरिने व्यवस्था रहेको छ । बाह्य जिल्लाका नागरिकलाई बस्दै आएको जिल्लामा जिल्लाको निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयमा आएर आफ्नो विवरण भरी मतदाता नामवलीमा नाम समावेश गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको बैठकमा जानकारी गराइएको हो ।
दाङका सात वटा पालिकासहित घोराही उपमहानगरपालिकाको प्रदेश निर्वाचन कार्यालय एवं जिल्ला प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिकाको इलाका प्रशासन कार्यालय तुलसीपुर र लमही नगरपालिकाको इलाका प्रशासन कार्यालय लमहीमा मतदाता नामावली कार्य मंसिर १७ गतेदेखि सुरू हुने भट्टराईले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष पिमाकुमारी खड्का, प्रवक्ता एंव दंगीशरण गाउँपालिका वडा न.७ का वडा अध्यक्ष विर बहादुर वली, वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ न. वडाका तुलसीराम देवकोटा, ३ न. कार्यवाहक अध्यक्ष छोटिराम चौधरी, ४ का वडा अध्यक्ष नेपबहादुर कवँर, ५ का वडा अध्यक्ष दिपक गौतम, ६ का वडा अध्यक्ष टंक बहादुर गौतम, नेपाली कांग्रेस गाउँ सभापति शम्भु गिरी, नेकपा एमालेका रेशमबहादुर वली, नेकपा माओवादीका मणिराम चौधरी, राप्रपाका वेदराज अधिकारी, इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख मेघराज डांगी लगायतको उपस्थिति रहेको थियो ।