चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।
मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।
पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार